‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरूले पानी भर्न पाउँदैनौं’ भन्दै दलित महिलामाथि निर्घात कुटपिट-Sutra News

‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरूले पानी भर्न पाउँदैनौं’ भन्दै दलित महिलामाथि निर्घात कुटपिट

बिहिबार, १८ बैशाख २०८२

बिहिबार, १८ बैशाख २०८२

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ निगालीटोलकी २२ वर्षिया प्रिति बिकलाई निर्घात कुटपिट गर्ने आफ्नै छिमेकी पक्राउ परेका छन्।



बुधबार दिउँसो धारामा पानी लिन गएको बेला सोही ठाउँका डिलाराम रिजालले बिकलाई निर्घात कुटपिट गरेका थिए।

रिजालको कुटाइबाट सख्त घाइते भएकी बिकको जिल्ला स्वास्थ्य कार्यालय सन्धिखर्कमा उपचार भइरहेको छ। उपचारमा संलग्न डाक्टरका अनुसार बिकको शरीरमा थुप्रै लिडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका थुप्रै चोट छन्।

पीडितको उजुरीका आधारमा पीडकलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए। उनले भने, ‘पीडकलाई पक्राउ गरिएको छ। उनीमाथि अनुसन्धान भइरहेको छ।’

पीडितको जाहेरीका आधारमा हातपात, गाली बेइजती तथा अभद्र ब्यवहार सम्बन्धी मुद्दामा पीडकलाई कारवाही हुन सक्ने उनले बताए।

रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै बिकलाई कुट्पिट गरेका थिए। ‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरुले पानी भर्न पाउँदैनौँ। अबदेखि यो मन्दिरदेखि तल झरेर पानी लिन आउने होइन,’ भन्दै बिकमाथि जाइलागेको प्रत्यक्षदर्शी अस्मिता सुनारले भनिन्।

रिजालले बिकलाई लठ्ठी र मुक्का प्रहार गरि निर्घात कुटपिट गरेका थिए। रिजालले जातीय गालीगलौज गरेको नदेखिए पनि उनीमाथि कुटपिट हुनुमा जातीय कारण प्रष्ट देखिएको अधिकारकर्मी अनिल नेपालीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट