अमेरिकावासी नेपालीले ज्ञानेन्द्र, बालेन र हर्कप्रति राखेको अपेक्षा-Sutra News

अमेरिकावासी नेपालीले ज्ञानेन्द्र, बालेन र हर्कप्रति राखेको अपेक्षा

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

क्यालिफोर्निया । नेपालीहरू जहाँ रहे पनि, उनीहरूको हृदयको एउटा टुक्रा सधैं नेपालमै रहन्छ। टाढा भए पनि आफ्ना माटोको माया, आफ्ना मान्छेको पीडा र देशको हालखबरप्रति उनीहरूको मन सधैं सजग हुन्छ। विशेषगरी अमेरिकामा रहेका नेपालीहरू, जो अब प्रवासी मात्र होइनन्, देशको संवेदनशील आत्मा बोकेका साक्षीहरू पनि हुन्, उनीहरूको मनमा नेपालप्रतिको चिन्ता झन गहिरिएको छ।



नेपालमा राजनीतिक अस्थिरता, दलहरूको घेराबन्दीमा परेकी नेपाल आमा र जनअपेक्षा अनुकुल देशको समृद्धि नभइरहेको कुराहरूले प्रवासी नेपालीहरुलाइ बेचैन बनाउँछ। कहिल्यै नफर्किने सम्झनाजस्तै, नेपालका ती असफल वाचा, अधुरा सपना र अपुरा प्रयासहरू उनीहरूको आत्मामा जरा गाडेर बसेका बसिरहेका छन्।

त्यसैले होला, आजका दिनमा उनीहरू पुनः केही विश्वासका केन्द्रहरू खोज्न थालेका छन्, कसैले त्यो बिश्वास पूर्वराजा ज्ञानेन्द्र शाहमा देख्छन्, कसैले त्यो आशा पार्टीहरुमा देख्छन् त कसैले एउटा असल नेताको अनुहारमा देख्छन्। कसैले हर्क साङपाङमा खोज्छन् त कहिले मेयर बालेन शाहमा देख्छन्।

नेपालमा भएका हरेक निर्वाचन, नीतिगत परिवर्तन वा सामाजिक आन्दोलनहरू अमेरिकामा रहेका नेपालीहरूका लागि सामान्य समाचार होइनन्, ती त भावनाको लहर हुन्, जसले उनीहरूलाई गाउँको चउर, चौतारी वा पानी पधेरो मेला पर्व र ऐचो पैचोमा फर्काइदिन्छ। उनीहरू अझै पनि आफ्ना देशका लागि केही गर्न चाहन्छन्, कसैले कलम चलाएर, कसैले पाखुरा कसेर। उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको क्षेत्रमा सहयोग पुर्याउन निरन्तर प्रयत्नरत छन्।

नेपालको भविष्य निश्चित छैन। संविधानमा भएका शब्दहरू कागजमा छन्, तर जनताको जीवनमा छैनन्। राजनीतिक स्थायित्वको सपना अधुरै छ र आशा पुनः एकपटक नयाँ पात्रहरूमा केन्द्रित हुन थालेको छ। राजा ज्ञानेन्द्रको स्मृति र बालेन शाहको सक्रियता एउटै लाइनमा उभिन सक्दैनन्, तर दुवैप्रति जनताको उस्तै चाहना छ- सकारात्मक परिवर्तन।

अमेरिकामा रहेका नेपालीहरू अब केवल दर्शक होइनन्, उनीहरू चाहन्छन्- देशको दु:ख उनीहरूको पनि होस्। उनीहरू चाहन्छन्- परिवर्तनको लहर उनीहरूले पनि महसुस गर्न सकून्।

देश टाढा भए पनि, माया टाढा हुन्न। देश छोडेर परदेश गएको नेपालीको मनले देशलाई कहिल्यै छोड्दैन। उनका सपना अझै त्यहीँ छन्, त्यो हिमालको टाकुरोमा, त्यो बारीको पधेरोमा, त्यो आमाको हातको खाना र त्यो बुवाको पसिनामा। अमेरिकाबाट देखिएको नेपालको नक्सा केवल भौगोलिक छैन, त्यो भावनात्मक नक्सा हो, जसमा आशा, पीडा, सपना र सम्झनाहरू भरिएका छन्।

त्यसैले, चाहे राजा होऊन् वा मेयर, चाहे पुरानो होस् वा नयाँ नेतृत्व, देशले अब दिशाबिहीन हिँड्न मिल्दैन। अनि प्रवासी नेपालीहरूले आफ्ना भाव, श्रम र सोचमार्फत देशको यात्रामा साथ दिन तयार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट