

काठमाडौं । शनिबार बिहानै बुटवल उपमहानगरपालिकामा होटल सञ्चालन गर्दै आएकी टिका बिष्ट क्षेत्रीमाथी गोली प्रहार भयो। होटल खोलेर होटलको नियमित काम गर्न सुरु गरेकी टिकालाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढेर आएका एक युवकले गोली प्रहार गरेर भाग्न सफल भए।
बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा पसल गर्दै आएकी २९ वर्षीय टिकाले प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण भारतीय नागरिक आलम अन्सारीले गोली प्रहार गरेको हुन सक्ने प्रहरीलाई बताएकी छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ईन्द्रबहादुर रानाले पनि घटनामा भारतीय युवक रहेको प्रारम्भिक अनुमान गरेको बताए।
उक्त होटल रहेको घरका घरबेटीका अनुसार आज गोली प्रहार गर्ने युवक यो भन्दा अगाडि पनि त्यस होटलमा आउने गरेका थिए। ती युवतीलाई मन पराउने भन्दै प्रेम प्रस्ताव राखेपनि टिकाले अस्वीकार गर्ने गरेको र केही दिनअघि मात्रै दुबै जनाबिच भनाभन भएको बताइन्छ।
टिकाले ती युवकको प्रस्ताव अस्विकार गरेपछि उनी त्यहाँबाट रिसाउँदै निस्किएका थिए। अहिलेसम्म छिमेकी, होटलका घरधनी र स्वयं पीडित टिकाको भनाइलाई आधार मान्दा पनि ति व्यक्ति एकै जना रहेको पाइन्छ।
घटनामा भारतीय मोटरसाइकल प्रयोग भएकाले सबै सिमा नाकामा आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गोली प्रहारपछि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकी टिकाको कम्मरमा लागेको गोली निकाल्न नसकिएपछि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा रेफर गरिएको छ।