अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या पनि छैन : प्रधानमन्त्री ओली-Sutra News

अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या पनि छैन : प्रधानमन्त्री ओली

शुक्रबार, ५ बैशाख २०८२

शुक्रबार, ५ बैशाख २०८२
गोन्द्राङ–पुल्चोक ६ लेनको सडक उद्घाटन चितवन, ५ वैशाखः पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक ६ लेनको सडकखण्डको उद्घाटन गर्नुुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन्। भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरे।



प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए।

सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको भन्दै प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिए।

‘अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु पर्या पनि छैन। त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन, उनले थपे, ‘सबैलाई सधैं राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन। विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनुपर्नेछ। मतभेदमा होइन एकतामा जोड दिउँ।’

विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गरे।

‘देशको विकास गर्नैुपर्छ। हामी सबै मिलेर विकास गर्ने हो। कोही आएर हाम्रो देश बनाउँदैन। आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ’, उनले भने, ‘डेमेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु।’

देश विकासका लागि स्थिरता चाहिने भन्दै उनले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताए। देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको बताए।

उनले भने, ‘विकासले गति लिएको छैन भन्ने कुरा होइन। विकासमा काफी प्रगति भएको छ, थप प्रगति गर्न आवश्यक छ।’

भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उनले बनाउने र भत्काउने काम गर्न नहुने बताए। प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट