काव्यात्मक अनुभूतिको सघन उज्यालोमा “अपदस्थ अस्तित्व”को आकाश-Sutra News

काव्यात्मक अनुभूतिको सघन उज्यालोमा “अपदस्थ अस्तित्व”को आकाश

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

जुन दिनदेखि मानिस चेतनशील हुन थाल्यो उ भित्र भाव र बिचारको ऎठन उठ्न थाल्यो। शोक र पीडामा रोइदिने अनि आफ्नो विजय र सफलतामा हाँसिदिने र खुसी हुने आदिम प्रवृत्तिको मौलिकता उ भित्र जागृत हुन थाल्यो । जुन दिन मनुष्यले प्रेम बुझ्यो, प्रेम गर्न जान्यो र प्रेमलाई प्राप्तिको रूपमा महसुस गर्न थाल्यो, सन्सारको पहिलो कविता त्यति बेला नै लेखिएको हुनुपर्छ ।



र त्यो कविता प्रेमको बारेमा लेखिएको हुनुपर्छ र त्यो कविता मनुष्यले लिपिबद्ध गर्न नसके पनि उसले आफ्नो आँसुको माध्यमबाट अभिव्यक्त गरेको हुनुपर्छ ।

सबैभन्दा पुरानो ज्ञात “कविताहरू” बेनामी छन् – जस्तै हिन्दु धर्मको ऋग्वेद, गिल्गामेशको महाकाव्य, र दोस्रो राजवंशको एक अज्ञात इजिप्टियन द्वारा लेखिएको विभरको गीत। भजन र इलियड क्रमशः डेभिड र होमरलाई यसको”श्रेय” दिइएको छ ।हामीलाई यो संसारको पहिलो कविता र पहिलो कवि को होला? भन्ने खुलदुली लागिरहेकै छ र आजसम्म यसको उत्तर पाइएको पनि छैन।

पहिलो कवि प्रकृति हो र उसको कविता हामी मानव स्वयं हौ भनेर बुझियो भने चिन्तन रेखा सरल भएर अगाडि बढ्छ। अल्झियो भने कतै पुगिन्न किनभने मानव प्रगतिको बाटोमा हामीलाई धेरै हिँड्नु छ। हामी धेरै अगाडि जानु छ।

यही चिन्तनको आकाशमा एउटी प्रखर प्रतिभाकी जुनकिरी हुन- हिमवतखन्ड नेपालकी चेली जमुना भट्टराई।

हामीलाई चिनाउने माध्यम बनिदियो कविता । कविता एउटा यस्तो शक्ति रहेछ कि जसले दुई अपरिचित मनुष्यलाई पूर्ण परिचित बनाउदोरहेछ। कविताको आराधनाबाट एकै मन्दिर भित्र भेट भएका हामी दुई भक्त ।
सिर्जनाका भक्त ।

भूगोलको हिसाबले हामी दिन र रात नै फरक हुने दुरीमा छौ। उहाँका कविताहरू यति शक्तिशाली रहेछनकि त्यो दुरीले पनि नछेक्ने सिर्जनाका लालटिनहरू मेरो छेउमा आएर बलिरहे र त्यो उज्यालोले अर्को उज्यालो खोजिरहे जस्तो लाग्यो । अनि यही उज्यालोमाथि केही लेख्न मलाई हुटहुटी चल्यो।

” अपदस्त अस्तित्व”यो शीर्षक देखेर म घोत्लिरहदा यो संग्रह भित्रको एउटा कविताले मलाई नराम्ररी चिमोटेर एउटा मीठो घाउ बनाइदिएको थियो। सोच्नुहोला के घाउ पनि मीठो होला भनेर? हो घाउ मीठो हुन्छ, जुन घाउले जिन्दगीको अँध्यारोमा आँखा उघारिदिन्छ। घोर तपस्याको अग्निमा साधना गरिरहेका बुद्धलाई एक दिन एकाएक शान्तिको जीवन सूत्र खुल्दा हिजोको त्यो पीडा कति मीठो लागेको थियो होला ? वास्तवमा सिर्जनाले दिने पीडा यस्तै यस्तै खुसीहरूको सघन एकता हो।

…………….
यो मेरो प्रश्न तिम्रा लागि
अन्तिम प्रश्न पनि हुन सक्छ
किनकि सधैँ सधैँ म तिम्रो
कठपुतली बनिरहन सक्दिन
मसँग आँखा जुधाएर भन त
तिम्रा लागी म के हुँ ?
अर्धाङ्गिनी ?
जीवनसाथी?
धर्मपत्नी ?
चरणधूली?
कमाएर खुवाउने कमैया ?
वंश बढाउने यन्त्र ?
मनोरञ्जनको साधन ?
खेलको मैदान?
या अरू नै केही?
तिमीले तपसिलका यी कुनै
यथार्थ, अवस्थिति, हुलिया र नाता
नबुझे, नबुझाएसम्म
यथार्थमा म तिम्रो कोही, केही हुनै सक्दिन
सिर्फ म स्वयं एक स्वतन्त्र नारी बाहेक
तिमीले नबुझेको सत्य नै यही हो ।

इतिहासमा हिजो निर्दोष हजुरआमाहरुले पनि पुरुष पीडा भोगेकै हुन, आज आमाहरूले पनि यो भोग्दैछन र भोलिका छोरीहरूले अब यो सहस्र आँसुको बर्बरता भोग्न नपरोस् भनेर कवयित्री कस्तो चिन्तित छिन यी माथिका कविताको जुनेलीले व्यक्त गरेका छन्।

हिजो पारिजातले ” “शिरीषको फूल” लेख्दा तिनको हिर्दयमा जुन हुरी मडारिएको थियो आज “अपदस्थ अस्तित्व” लेख्दा जमुनामा पनि त्यही आधी उठेको देखियो । महिलालाई फोहोरको थुप्रो सम्झिदिने पुरुष छातीमा हिजो यशोधराका आँखा पनि रोएकै हो। हिजो स्वर्ण लन्काकी पटरानी पनि रोएकी हुन अनि मर्यादा पुरुषोत्तमकी पत्नी सीता पनि रोएकी नै हुन। यो प्रकृतिलाई रुवाउने काम कहिलेसम्म ? यही प्रश्नको उत्तर माग्छिन् जमुना ।

“म त्यही चट्टानमा खसेको पीपल बीज हुँ
मलाई कसैले हेरचाह गर्दैनन्
मलाई कसैले पानी हाल्दैनन्
मलाई कसैले उम्रिन सिकाउँदैनन्
मलाई कसैले घेरा बारा गर्दैनन्
मलाई कसैले माया गर्दैनन्
म उम्रनु
म हुर्किनु
म झाँगिनु
म फैलिन
सबै-सबै मेरै अस्तित्वमा निहित छ”

एक्लोहरूलाई देखिँदैन तर दिग्विजय एक्लोले गर्छ। सत्य सापेक्ष हुन्छ र आफूले खोजेको सत्य जहाँ पनि पाइन्छ। सत्यको स्वतन्त्र सत्ता हुँदैन। मानिसले सत्य आफै निर्माण गर्छन्। सत्य त सत्य हो तर जब सत्यलाई सबैले आ आफ्नो निहित स्वार्थसँग जोडे अनि सत्य पनि रुन्छ मानिसको आँसुसँग पग्लिदिन्छ। एक्लोमै पूर्ण बन्न सकिने कवयित्री जमुना भट्टराईको आट र अदम्य साहसिलो मनोबललाई सम्मान !

सत्य पनि स्वयम् एक्लो छ। हिजोदेखि आजसम्म सत्यले भिड रोजेन। भिडमा सत्य असत्य हुन्छ। सर्जक सधैँ एक्लो हुन्छ । उ एक्लो मै पूर्ण छ। सर्जक त एक्लो मै आराध्य छ।

मानिस भिडमा पशु बन्छ। भिडमा एउटा नाङ्गियो भने सबैलाई नाङ्गिन कुनै डर हुँदैन । मानिसहरू एक्लो हुनुलाई बथानबाट छोडिएको चरी भन्छन् तर म त्यसैलाई बुल बुल भन्छु । भिड दुखेको देखेको छु मैले तर एकान्त कहिले दुखेको देखिन। एक्लो उभिएको पहाडलाई हेर्छु कति शान्त बाचिरहेछ त्यो। भिड नाच्छ पहाडको छातीमा तर पहाडले कहिले दुख्यो भन्दैन।

सर्जक एक्लै छ । सर्जकलाई छोएर भाग्ने त्यो हावा एक्लै छ। भिरमा फुलेको गुराँस एक्लै छ । कलम एक्लै छ। श्वास प्रश्वास एक्लै गरिरहेछ भित्र बाहिर । ज्युँदो हुनेहरू एक्लैले संघर्ष गर्छन्। भिड त लासलाई मात्रै चाहिन्छ।

हिजो धरहरा एक्लै बाचेको थियो र एक्लै ढल्यो भूकम्पमा। उ ढल्दा उ सँग ढले कयौँ एक्लाहरू । सर्जक पनि हिजो ढलेको एक्लो धरहरा जस्तै हुन एक्लो सत्य !

इतिहासमा सत्यहरू पुरिए पनि कालान्तरमा ती पिपल जस्तै फेरि फेरि उमृन्छन। एक्लो हुनुलाई नदीले छोडेर गएको बगर भन्छन् तर म एक्लो हुनुलाई काली गण्डकीले कुदेको शालिग्राम भन्छु। हाम्रा सिर्जनाहरू, हामीले गाउने गीतहरू,मुटुका मुर्छना हुँदै छातीको नादबाट एक्लै स्वरित हुन्छन्।

ती रचनाहरूलाई हामीले कहिले एक्लो हुन दिएका छैनौ। गीतहरू जुन दिन एक्ला हुन्छन् ती नारायण गोपालका ओठहरूबाट जुनकिरी भएर गुन्जिनेछन् मुटुका लयहरूबाट । जमुना ! तिम्रा मुटुका स्पन्दनहरू पिपल आँखा हुन जसबाट सिर्जनाका रशनाहरू तप तपी चुहिरहेका छन्।

“जीवनको पर्दा कविता” मा तिमीले यसो भनिरहँदा जस्तोसुकै चट्टानी मुटु भएका निर्दयी मानिसको पनि मुटु भक्कानिएर आउँछ…..

“म हिजो अर्कै थिएँ
आज अर्कै छु
जीवन पहिला जस्तो पटक्कै छैन
आजकल
फेरियो मेरो माइतीघर
फेरिए नाता सम्बन्धहरू
बाबा आमा दाजु भाइ फेरिए
दिदी बहिनी थपिए

मेरा
ममताका काखहरू अस्पतालका शय्या भए
बाबाका आशीर्वाद डाक्टरहरू भए
बुहार्तन बिसाउनलाई नर्स दिदीहरू भए
माइतीको प्यारो आँगन
मेरा लागि बिरामी कुरुवा स्थल भए
माइतीलाई कोसेली हातको शोभा
हरिया नोटहरू भए

छोरीको जुनी नै पराई घर सम्हाल्ने
आफैँ रोजे मैले पराई घर
जहाँ श्रीमान्, सासू-ससुरा, नन्द-आमाजू
देवर-जेठाजु सङ्ग होइन
थर्मामिटर, मोनो मिटर, सिरप, ट्याब्लेट , सिटी स्क्यान, अल्ट्रासाउन्ड, मेमो ग्राम एनेस्थेसियासंगै बिताउनु छ

मलाई
नयाँ घरका क्यानूला र सुईहरू नन्द-आमाजू झैँ लाग्छन्
जो दिनहुँ चसक्क-चसक्क घोचिरहन्छन्
सिटी स्क्यान, अल्ट्रासाउन्ड, मेमो ग्राम
सासू-ससुरा झैँ लाग्छन्
जो स-साना खोटहरू खोजिरहन्छन्
अनि, एनेस्थेसियाको त के कुरा
काम वासनाले उन्मत्त
कुनै कामुक पुरुषले झैँ
पटक पटक मारिरहन्छन्

कहिलेकाहीँ आफैलाई धिक्कार्दै
बाबाले साहुसँग कबोलेको ऋणको भाखा ननाघी
विवाह मण्डपमै दाइजो नपुगेर तिरस्कृत भए झैँ
औषधि नपुगेर काख गुम्छ भनी
ढाकिएर ब्ल्याङ्केटभित्र एक्लै
अविरल, अविच्छिन्न सुक सुकाउँछु
बारबार फेरिएको मेरो यो
अनकन्टार जीवनको पर्दा
फेरि कहिले कुन रङ्ग-रूपमा फेरिने हो
केही पत्तो पाउन सक्दिन म”

-यो सिङ्गै कविताको समष्टिमा म धेरै बेर घोत्लिए।

कि एउटा बिमारीको ओछ्यानबाट बोलिरहेका कुराहरूलाई कसरी काव्यात्मक बिम्ब दिएर रसा मृत बनाइएको छ। जीवनको सारभूत तत्त्व दुखको मैदान पनि हो। यो मैदानमा उत्रिएर हामी कसरी जीवन युद्धलाई जित्छौ भन्ने उदाहरण यी कविताका हरफहरूले स्पष्टीकरण दिएका छन्।

शब्द लेख्दा कविता हुन्छ ।शब्द बोल्दा ध्वनि हुन्छ।ध्वनिमा सङ्गीत भरिदिँदा गीत बन्छ । अनि सङ्गीतको लय र तालमा सस्वर तिनै शब्दलाई गाउँदा ती गीत बन्छन् र गुन्जिन्छन् हिर्दयभरी ।

तिम्रो कविता पढ्दा मलाई मेरो जिन्दगी प्रति अझै माया लागेर आयो। तिमीले मानिसलाई शब्दका माध्यमबाट ज्युने कलात्मक कला सिकाएकी छौ।
अहिलेको मानिसले खोइ किन पो हो जीवनलाई माया गर्दैनन् । तिमीले जीवनलाई माया गर्न सिकाएकी छौ, प्रेम गर्न सिकाएकी छौ,घोत्लिएर एकाङ्की भएर होइन संघर्ष गर्न सिकाएकी छौ, प्रेरणादायी बन्न हौसला दिएकी छौ।

दुख छ र त सुख छ । रात छ र त दिन पनि छ। पर्वत छ र त समथर फाटहरु पनि छन्। हामी मानिस भित्रको मनको कुरा बडो कलात्मक ढंगले अभिव्यक्त गरेकी छौ तिमीले।

“चञ्चल दिमागमा उठ्ने
असीम चञ्चल प्रवृत्ति
‘यी प्रवृत्तिहरूले फरक पार्छ
र यसलाई शान्त हुन दिँदैन
जबसम्म यी प्रवृत्तिहरू देखा पर्दछ,
तिनीहरूले शान्ति साकार हुन दिँदैनन्

संन्यास जिन्दगी छ
त्याग पछि पनि
जो त्याग जस्तै छ,
त्याग,जो पछि परित्याग जस्तो
केही बाँकी शेष केही छैन भने,
त्यो सर्वोच्च त्याग हो।

मनमा उठ्ने
चञ्चल प्रवृत्तिको त्याग
स्वचालित रूपमा हुनेछ।

जो त्यागको बाटोमा हिँड्छ
ऊ सर्वोच्च शान्तिमा हुन्छ।
एक जो उन्मत्त साँढे जस्ता
साना कुराहरूको पथमा हिँड्दछ,
उ जीवन भर अशान्त रहन्छ।”

त्याग जीवनको अनमोल चरित्र हो। यो चरित्र एकाध मानिसमा हुने एउटा अनमोल गुण हो। जो त्यागी छ उ नै शान्तिको परम मार्ग उन्मुख हुन्छ । माथिको कविता पुष्पमा तिमीले जीवनको एउटा परम चरित्रको बारेमा बोल्यौ जो हिजो बुद्धले पनि बोलेका थिए ।

फूलले सुगन्ध आफू लिँदैन अरूलाई दिन्छ। दियो आफै जलेर अरूलाई उज्यालो देखाउँछ । बाटो आफै जहाँको त्यही छ, उसको छाती टेकेर हिड्नेहरु कहाँ पुगिसके। तिमीले देख्यौ, भोग्यौ र लेख्यौ। अब यो सिर्जना सबैको साझा हो। तिमीले यस्लाइ आफ्नो भन्न कहाँ पाउँछौ र?

मेरो भन्ने कुराहरू जब हाम्रो हुन थाल्छन् अनि मानिस देव तुल्य हुन थाल्छ । तिम्रो “अपदस्थ अस्तित्व” ले तिम्रो निजात्मक भोगाइ सोचाइ र कथा भने पनि यो अब सार्वजनिक भए । सबैको भए । त्यस्तै चिजहरू सार्वजनिक हुन्छन् जो हिर्दयग्राह्य हुन्छन् ।

” अपदस्थ अस्तित्व” ले बोकेको युगिन आवाज सबैको आवाज हो। जीवनलाई हामीले चाहे जस्तो भोग्न कहाँ पाउँछौ र ? उज्यालो दिनलाई रातले अपदस्थ गरिदिए जस्तै फेरि रातलाई पनि उज्यालोले अपदस्थ गरिदिन्छ ।
आँसु छ र त खुसीको महत्त्व पनि छ।

कवितामा आधुनिक जीवन जगत् र त्यसको उन्नयन सचेतनालाई सहज ढंगले अभिव्यक्त गरिएको छ। भावमा सरलता “अपदस्थ अस्तित्व” को सबैभन्दा सौन्दर्य पक्ष हो।

जीवन जति सरल छ त्यति नै सुन्दर छ,त्यसैले सिर्जना जति सरल हुन्छ त्यति नै यस्का पाठकहरू नजिक हुन्छन्। भाव संयोजन र शब्द गुम्फनमा एकरूपता रहेको छ। कहीँ कतै जटिल शब्द थोपरिएका छैनन् । शैली र अभिव्यञ्जना मा एकरूपता छन्। कवितामा शब्दहरू जवर्जस्ती थोपरिएका छैनन् । भावमा कहीँ दर्शन छन्, कहीँ प्रकृतिको स्वादिलो रशना छन्। कहीँ दुखका अलापहरू छन् भने कहीँ सुखका बिसौनीहरू छन्।

हिन्दु दर्शन, जैन दर्शन र बौद्ध दर्शनले बढी प्रभाव भएको हाम्रो पूर्वीय साहित्यमा मानिस र उ द्वारा रचित / सिर्जित सिर्जनालाई धेरै महत्वका साथ हेरिन्छ।,युरोपीय महाद्वीपदेखि पूर्वतर्फको भूमि बुद्ध भूमि हो। खास गरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका साहित्यिक चिन्तन नै पूर्वीय दर्शनको रूपमा स्थापित भएका छन्।

“अपदस्थ अस्तित्व” मा पूर्वीय चिन्तनको भरपुर उपयोग भएको छ। कतै निजात्मक शैलीले कविताको भाव बिस्तार र विस्फोटमा रोकावट पो आएको हो कि भन्ने अलमल नभएको पनि होइन । तर समग्रमा पहिलो प्रहरमै सुखद दिनको शुभ सङ्केतको रूपमा आएको ” अपदस्थ अस्तित्व” कि सर्जकलाई हार्दिक बधाई एवं शुभकामना !!
                                                                               कृति समीक्षक- ( लक्ष्मण सिटौला)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट