आर्चायको लघुकथा संग्रह ‘तरङ्ग’मा तरङ्गिदा-Sutra News

आर्चायको लघुकथा संग्रह ‘तरङ्ग’मा तरङ्गिदा

शुक्रबार, २२ चैत्र २०८१

शुक्रबार, २२ चैत्र २०८१

व्यास नगरपालिका–९ कलोस्ती तनहुँमा जन्मेका उनी स्कुल पढ्दा कविता लेखेर सुनाउथे । साहित्यीक कार्यक्रम र प्रतियोगिता भनेपछि जसरी पनि पुग्थे । पुरस्कृत हुन्थे अनि रमाउथे । उनी त्यसबखत प्रकाशन हुने बालक पत्रिका खूब पढ्थे । जब स्कुले जीवन सकियो र उच्च शिक्षाका लागि तनहुँवाट राजधानी काठमाण्डौ आए, उनको साहित्यप्रति रुची अझ बढ्न थाल्यो । उनले उच्च शिक्षामा साहित्य विषय त पढेनन् तर पनि सिक्ने,रुची र लगनशिलता,सिर्जनशीलता भएपछि सफलता पनि हात पर्न सक्छ । महाकवि देवकोटाका धेरै जसो कृतिहरु पढेपछि उनीमा सिर्जना मूल फुट्न थाल्यो । देवकोटालाई आदर्श मान्ने उनले उच्च शिक्षा पछि प्राध्यापन र अनुसन्धानलाई जीवनको मूल पाटो बनाए । साथमा साहित्य सिर्जना पनि ।



फूटकर सिर्जनामा सीमित उनका सिर्जनाहरु खासगरी कोरानाको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनमा घरमै बस्दारहदाले अझ वढि निखारता पायो । यसैबीच लेखनलाई तीव्र बनाएका उनका लघुकथाहरु नमस्ते आधुनिक लघुकथा मञ्चमा डिजिटलाइज हुने मौका मिल्यो । उनका लघुकथाहरु अभ्यस्त कथाकारका भन्दा कम छैनन यद्यपी उनी नयाँ भएपनि । धेरैजसो सो मञ्चमा सुुसज्जति हुन पुगेका लघुकथाका अतिरिक्त अन्य कथाहरु समाबेश गरी स्रष्टा अजित आचार्यले तरङ्ग नाम लघुकथा संग्रह पाठकसामु ल्याएका छन् ।

तरङ्ग नै शीर्षक किन रह्यो भन्ने सन्दर्भमा कथाकार आर्चायले भूमिकामै बडो सुन्दर ढंगमा भनेका छन्– मन तरंगित हुन्छ, छचल्किन्छ अनि पोखिन्छ । यतिबेला थोपालाई लघुकथा बनेर पोखिएका छन । सम्हालेर तरङ्गीत मनका भावहरुको संग्रह बनेको कहिलेकही शब्दाकारमा गीत बनेर,कविता गजल,मुक्तक,कथा निबन्ध बनेर भाडामा पोखिन्छ र भाडो अनुसारको आकार लिन पुग्छ ।’

आचार्यका लघकुथाहरु खास विषयकेन्द्रित हुदैनन् तिनीहरु समयको भोगाईबाट जन्मिएका मनका छालहरु हुन । अझ अर्को शव्दमा भन्ने हो भने मनका छालहरु पोखिएका थोपा थोपा नै हुन किनकी तिनिहरु स्वतन्त्र छन्, आकाशमा उड्ने चराजस्तै । रामहरी पात्र त्यो थोपा जम्मा गर्दै भर्दै गर्छन । पढ्दा छुट्टै आनन्द आउने आचार्यका कथाले पेचिलो सन्देश बोकेको हुन्छ । कथाभरि तिनै रामहरी पात्र उभ्याएका छन् किनकी उनका विचारमा रामहरी समकालीन पुस्ताका प्रतिनिधि पात्र हुन ।

साहित्यकार पुरुषोत्तम रिजाल(नेपाली साहित्यका दर्शनाचार्य तथा प्राध्यापन पेशामा संलग्न) को भूमिकाले यस संग्रहको गरिमा अझै बढाएको देखिन्छ । थोरै लेख्ने बहुतै स्तरीय लेख्ने रिजालले तनहँु जिल्ला मलिलो माटो भएर होला जनसंख्या विषयका अध्यता, अनुसन्धानका विद्यार्थी हुदै उनको सिर्जना कर्म निकै लोभलाग्दो, इष्र्यालाग्दो भएको उल्लेख गरेका छन् ।

पचास वटा लघुकथा संग्रहित संगहमा आचार्यका कथाहरु सरल छन,बुझ्न र महसुस गर्न एवं अर्थ पहिल्याउन कुनै शास्त्र पढ्नुपर्दैन । हामी बाँचेको समाजका गृहस्थी जीवनका कथाहरु जनसाधारण वा भूईमान्छेका जीवनगाथा र भोगाईमा आधारित छन् । नेपाली समाजका सामान्य भन्दा पनि अति सामान्य कुरालाई समेटेर उनी कथा बुन्छन जुन मर्मस्पर्शी र सन्देशमूलक छन् । सामाजिक मूल्य मान्यता हराएकोमा उनको दुखेसो छ । सरसफाई, दशै, मास्क, खण्डहर, श्रमिक दिवश, आमाको विक्री, भाइफुटे, सहरपसेपछि, गुरुको अर्थ, कक्षा कोठा, सिरक भित्रको मुड्की,फेक आइडइी, डाक्टरको सल्लाह, किशोराबस्थाको आक्रोस, माता र मातृभुमि, देशको माया आदि संग्रहमा प्रतिनिधिमूलक लघुकथाहरु बनेका छन् ।

डाक्टरको सल्लाह शीर्षकको लघुकथामा नाम चलेका एक निजी अस्पतालले उपचारका नाममा अनावश्यक परीक्षणहरु गर्न लगाएको र बिरामीको मुटु प्वाल परेको भनी त्यसलाई टाल्नपर्ने बताएपछि प्रतिनिधि पात्र रामहरि जो एक शिक्षकको भूमिकामा छन उनी डाक्टर सित रिसाउन पुग्छन् । उनी प्वाल परेको मुटु नटाल्ने निणर्यमा पुग्छन् । उनी रिर्पोट बोकेर फटाफट हिड्छन र डाक्टर हेरेको हेरै हुन्छन । मानवीय संवेदना र व्यक्तिको आर्थिक अवस्थाको ख्यालै नगरी शहरमा खुलेका ब्यापारिक अस्पतालहरुबाट रामहरी जस्ता कमजोर आर्थिक अबस्था भएका शिक्षकहरु कति प्रताडित छन् भन्ने कुराको चित्रण गरेको छ ।

कथाकार आचार्य कथाको प्लट निर्माण गर्न र कथा बुन्न निक्कै खप्पीस छन् । उनी सामान्य घटनामा पनि बान्की भर्न कथा बुन्ने अनौठो कला र शिल्पी प्रयोग गर्दछन् । यसैगरी श्रमिक दिवश लघुकथामा कतिपय निजी कम्पनीहरुले श्रमिक दिवशका दिन विदा दिएर नाटक गरेको बुझाउँछन । वर्षौसम्म श्रम शोषण गरिरहने, न ओभर टाइम वा अतिरिक्त काम गरेको समयको अतिरिक्त ज्याला दिन्छन श्रमिकलाई न दैनिक ज्याला आर्कषक छ नत मासिक बेतन नै सन्तोषजनक छ, हातमुख जोर्न मुश्किल पर्ने श्रमजीवीवर्गका मुद्दा जहिल्यै ओझेल पर्ने गरिएको, सामाजिक सुरक्षा कोषमा समाबेश हुनुपर्ने, पटक पटकको माग र आन्दोलनको वेबास्ता नगर्ने उहाँ भने मजदुर दिबसलाई उत्सब ठानी छुट्टी दिएको नाटक गर्ने कम्पनी(मालिक) प्रति श्रमिकको तीब्र आक्रोस पोखिएको छ कथामा ।

मास्क शीर्षकको लघुकथामा आजकल मास्क लगाउने सबै सबिनजस्तो मात्र धुलो धुँवा छेक्न भन्दा पनि मनभित्रको लज्जा, ग्लानीकुण्ठा छेक्न माक्स लगाएको भनी रामहरि बताउँछ । हुन पनि शहर प्रदुषणमुक्त त बन्न सकेकै छैन कतिपय त लुक्न, छेक्न र छेकिन माक्स लगाएका हुन्छन् । यसरी माक्स लगाउनुको रहस्यबारे व्यग्य गरिएको छ यस कथामा ।

सिरक भित्रको मुड्की शीर्षकको लघुकथामा रामहरिले घनश्यामलाई फेसबुक स्टाटस हेरेनरहेको सोध्छन् । फेसबुक मानिस जीवनको अभिन्न अंग ठान्ने अहिलेको प्रविधि जनित युगमा फेसबुक मार्फत वडा अध्यक्ष र पालिका प्रमुखलाई भित्तै पुग्ने गरी लेखेको स्टाटसले आफू बहादुर ठानेको गर्व गर्दछ । सामाजिक सञ्जालमा जे मन लाग्यो त्यहि लेख्ने एक अर्कालाई गाली गलौजमा गर्ने वर्तमान प्रवृत्ति प्रति कथाकारको तीब्र आक्रोस छ । आमनेसामने भई छलफल संवाद नै नगर्ने परम्परा बनेकोमा र सामाजिक सञ्जालमा जे मन लाग्यो त्यो स्टाटस लेख्नु सिरक भित्र मुड्की हान्नु जस्तो भनी प्रविधिको नाममा सामाजिक सञ्जाल यतिबेला गालीगलौजको माध्यम बनेकोमा कथाकार चिन्तीत देखिएका छन् ।

फेक आइडी शीर्षकको लघुकथामा प्रविधिले मान्छेलाई भुलाएको र अहिले महिला पुरुषका यौन कुण्ठा मेट्ने साधन फेसबुक( मेसेन्जर) बनेको देखाएका छन । फेक वा झूटो आइडी बनाएर फेक फोटो राखेर समेत पुरुष परस्त्रीसँग र श्रीमति परपुरुषसँग सम्वन्ध गाँस्न शुरु भएको, अर्फयस चल्ने गरेको, रोमान्स समेत गर्न थालेकोमा यस सचेत बन्न, सम्वन्ध नबिर्गान र घरवार चौपट नपार्न आग्रह गरिएको छ ।

भाइफूटे शीर्षकको लघुकथामा रामहरि र कृष्णहरि एउटै आमाका लाम्टो चुसेका साख्खे दाजुभाई पनि एक जना धूर्त छिमेकीले उनीहरु बीच द्धन्द चर्कादिएको हुन्छ । पैत्रिक सम्पत्तिकै नाममा दाजुभाई वीच पानी बाराबारको स्थिति देखिन्छ । दाजुभाई बीच सुसम्वन्ध हराउदै गएपछि त्यसले ल्याउने दुष्परिणामको बारेमा सूक्ष्म संकेत गरेको छ भाइफूटे लघुकथाले । यसैले भातृत्व प्रेम हराउदै गएको पनि कथाकारले चिन्ता प्रकट गरेका छन् ।

देशको माया शीर्षकको लघुकथाले नेपाल कतिपय युवासमुदाय स्वदेशमा कृषि कर्म र सानो तिनो काम नगर्ने र विदेश गएपछि जस्तो सुकै काम पनि गर्न तयार हुने परिपाटीप्रति व्यङ्ग्य गरेको छ । विदेश गएको छ महिनामै देशप्रतिको माया जागृत भई हरिशरणको स्वदेश फर्कने विचारमा आएको परिवर्तन सन्देशले हामीमा देशप्रति अगाध माया स्नेह हुनुपर्ने र विदेशिदैमा आफ्नो देशप्रतिको माया नहराउने एवं विदेशमा सिकेको सीप आफ्नो देशमा पनि प्रयोग गर्न सकिने र देशलाई माया गर्न युवासमुदायलाई सन्देशित गरिएको छ ।

समग्रमा भन्ने हो भने कृति आकारमा सानो भएपनि निक्कै ओजपूर्ण रहेको छ । सवै उमेर समूहका पाठकहरु यसबाट लाभान्वित हुने देखिन्छ । मनोगत आनन्द साहित्यले दिने भएकाले यस प्रति आफ्नो लगाव रहेको साहित्यकार आचार्य बताउँछन । जनस्वास्थ्य र सामाजिक विषयमा कलम चलाउने उनी साहित्यका बहुविधामा रुची राख्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट