

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहाले आफ्नो सक्रियता बढाएसंगै राजावादीहरु पनि सक्रिय बन्दै गएका छन् । व्यवस्था परिवर्तनको मागसहित राजावादीहरु विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् भने गणतन्त्रवादी दलहरु त्यस किसिमका गतिविधिका विरुद्ध आन्दोलनको तयारी गरिरहेका छन् ।
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजाले दिएको एक शुभकामना सन्देशसंगैको अभिव्यक्तिलाई लिएर राजावादी दल तथा संघ संगठनहरु हौसिएका छन् । अर्को तर्फ गणतन्त्रवादी दलहरुमा भने त्रासको अवस्थता सृर्जना भएको देखिन्छ । विशेषत मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) नै राजावादीको बढ्दो सक्रियतालाई दिएर चिन्तित देखिन्छ । जनतासँग माओवादी तराई–मधेश जागरण अभियानमा रहेको माओवादी केन्द्र अभियानलाई थाति राख्दै राजधानि केन्द्रित भएको छ ।
यसैबिचमा सरकार परिवर्तनसंगै राष्ट्रिय सहमतिसहितको सरकार बनाउने चर्चाले स्थान पाएको छ । दलहरु बिच सहमतिका लागि निरन्तर बैठकको प्रयासहरु भइरहेका छन् । तथापि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्थतालाई देखाएर बैठकले पूर्णता भने पाउन सकेको छैन् ।
राजावादीको सक्रियताले गणतन्त्रवादी दलहरु पुनः एक ठाँउमा आउने संकेत देखिन थालेको छ । व्यवस्था परिवर्तनको मुख्य एजेण्डा बनाएको राजावादीप्रति आम नागरिकको बढ्दो आकर्षणले पनि गणतन्त्रवादी दलहरुमा त्रास पैदा हुनुृ स्वभाविक पनि छ । राजावादीलाई काउन्डर गर्दै माओवादी केन्द्रको नेतृत्वमा सिङ्गो गणतन्त्रवादी दलहरु चैत्र १५ गते सडक आन्दोलनमा उत्रने उद्घोष गरेका छन् । सोहि दिन राजावादीको पक्षधर मानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि आन्दोलनको घोषणा गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ताको तयारी भएको छ ।
जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत अभियानमै रहेका प्रचण्ड आज काठमाडौं आइसक्ने बताइएको छ । त्यसपछि तीन शीर्ष नेताहरुबीच छलफल हुने तयारी रहेको छ ।
शीर्ष नेताहरुबीचको भेटवार्तामा समसामयिक राजनीति, पछिल्लो समय विकसित भएरहेका प्रतिगामी हर्कत, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
तीन शीर्ष नेताहरुको छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे पनि छलफल हुनसक्ने सम्भावना रहेको छ । राजावादीहरुको पछिल्लो गतिविधिले गणतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउने माहोल खडा गरिदिएको छ ।