कथा : रानी साहेब, सिपाही र नाइट क्लब -Sutra News

कथा : रानी साहेब, सिपाही र नाइट क्लब 

रानी साहेबलाई खाना खुवाएर जब म तल ओर्लिँदै थिए एक्कासि रानी साहेबले मेरो हात च्याप्प समाउँदै मलाई एकोहोरो हेर्नू भो र...

शनिबार, २४ फाल्गुन २०८१

शनिबार, २४ फाल्गुन २०८१

ब्रीगेडिएर जर्नल कवीन्द्र  बहादुर शाहीको सुरक्षा गार्ड थिए म  । त्यति बेला जति बेला यो रमाइलो घटना घट्यो जिन्दगीमा। सेक्युरिटी गार्डमा म सु.मे थिए र मेरै कमान्डमा थिए अरू चार जवान सिपाही । म दीपेन्द्र ढकाल । कान्छी रानी साहेबको मन पर्दा बोलाउने दिपु र राजा साहेबले मन पर्दा बोलाउने नाम बाजे।



बाहुन भएको नाताले मैले विशेष सुविधा पाएको थिए। उहाँको दुई रानी थिए। कान्छी रानी पाल्पा रिडीकी । पाल्पाको कमान्ड हुँदा उता बिहे गर्नुभएको । जेठी रानी गोर्खा सिरान चोककी थिइन। रानी साहेबहरू पनि उतिकै मजाका र दयालु थिए। दुई सौता सौतीमा कहिले झगडा हुँदैनथ्यो। वास्तवमा जहाँ अभाव छ त्यही हुने त हो झगडा पनि । खाली भाडा नै त हो बज्ने पनि । जलले भरिएको गाग्री कहिले बज्छ र ?

कवीन्द्र सर- बिचारले, मनले, धनले, धर्मले कर्मले सबै कुराबाट अति सम्पन्न  व्यक्ति हुनुहुन्थ्यो । मैले जाने बुझेसम्म उहाँले आफ्ना सिपाही र अर्दलीहरूलाई कहिले पनि गाली गरेको सुनेको छैन। भान्सा म सम्हाल्थे जो अर्याल बाहुन परे। उहाँहरू क्षेत्रीय भए पनि बाहुनले तयार गरेको भान्सामा नै रमाउने। म शाकाहारी थिए। त्यसैले सिकार र माछा मासुको परिकारको जिम्मेवारी चैँ भीम रानाले पाएको थियो।

भीम राना उतै जेठी महारानी सिरान चोकका माइती गाउँले भाइ थिए। हरेक शुक्रवार त्यो घरमा भव्य  पार्टी हुन्थ्यो । पाल्पा रिडीकी कान्छी महारानी मसँग नजिक थिइन ।भीम राना जेठी महारानी सँग नजिक थिए। रानी साहेबहरू कहिले रिसाएको र झगडा गरेको देखिएन। जेठी रानी साहेबका दुई छोरा अमेरिकामा पढिरहेका थिए। अमेरिकी सोसाइटीको कारण पनि त्यो घर पूर्ण आधुनिक घर थियो।

लामो छुट्टीमा जेठा छोरा अमेरिकाबाट आउँथे । एक दुई महिना रिल्याक्स गरेर फर्किन्थे। उहाँको नेपालमा एक दुइटी गर्लफ्रेन्ड थिए। शुक्रवारको पार्टीमा घरमा ल्याउँथे। आफैसँग राख्थे नाचगान रमाइलो मोज मस्ती गरिसके पछि  आइतबार पुर्याइदिन्थे।हामी सिपाहीहरू अचम्म मान्थ्यौ कि बिहे नगरीकनै कसरी अर्काकी छोरीलाई आफूसँग दुई दुई दिन राखेर फेरि घरमै पुर्याइदिन सकेको होला भनेर। बसुन्जेल हरेक शुक्रवार हुने घरको निजी पार्टीमा उनी गर्लफ्रेन्ड फेर्थे। महिनाको पहिलो शुक्रवार आएकी गर्लफ्रेन्डलाई एकै पटक तेस्रो पार्टीमा बोलाउँथे।

पदले म भन्दा भीम जुनियर भए पनि हामी दुई जनाको गफ असाध्य मिल्थ्यो। घरमा रमाइलो थियो। हामी पाँच जना सिपाहीको मेष अलग्गै थिएन।सबै जना सँगै खान्थ्यौ। खाना खाने बेलामा कवीन्द्र सरलाई सबै जना अगाडि हुनुपर्थ्यो। बिना मासुको भान्सा हुँदैनथ्यो । त्यसले गर्दा पनि भीम हरेक दिन मसँग हुन्थ्यो। कान्छी रानी साहेब वाइन मज्जाले पिउँथिन। जेठी खासै पिउदैनथिन।

अरू सिपाहीहरूलाई सबैको अगाडि पिउने छुट थिएन। कवीन्द्र सरले शुक्रवार भएपछि एउटा रेड लेबल ह्विस्की दिन्थे सिपाहीहरूलाई। उनीहरू बेग्लै रमाइलो गर्थे। पाल्पा रिडीकी कान्छी महारानी तर्फबाट बच्चा भएको थिएन। शायद जेठी पट्टि दुई दुई छोरा भएपछि बिहे गरेको हुनाले सन्तान नजन्माउने सर्त हुनुपर्छ । कान्छी मस्त तरुनी थिइन ।बच्चा नपाएका स्त्रीहरू बुढी नदेखिनु प्राकृतिक नै होला ।

कवीन्द्र सरको सबै कुरा त राम्रो हो तर एउटा कुरा चाहिँ उनी आफूलाई अलिक बढी मर्दाङ्गी देखाउँथे। अर्थात् उनी अलिक रसिक र तरुनी केटीहरूका प्यारा थिए। अमेरिका जाँदा पनि नाइट क्लब चैँ बसुन्जेल जान्थे रे! पैसा जति पनि छ। खर्च गर्नलाई अनि के भो र।

अमेरिका आउने जाने गर्दागर्दै कवीन्द्र सरलाई नेपालमा पनि नाइट क्लब जाने बानी परेको हुनुपर्छ । म उन्को सेक्युरिटी गार्ड । गाडीमा प्रायः सँगै हुन्थे । र मलाई कुनै कुरा पनि ढाँट्न सक्दैनथे।

पाँच बजे कार्यालय छुटेपछि उनी बानेश्वर चोक भित्र हामीलाई एक छिन है म आइहाल्छु भनेर दुई घण्टा कुराउँथे।फर्किदा तरुनी केटी गाडीसम्म छोड्न आउँथिन। एक दिन अर्को आउँथिन अर्को दिन अर्कै आउँथिन।पालो पालो गरेर नयाँ नयाँ मुहार हामी पनि देख्न पाउथेम। फेसबुकमै थुप्रै महिला साथी थिए। एक दुई चोटि मेसेन्जरमा च्याट भयोकी खेल तमाम । “दिनै जसो नयाँ जून हेर्न र फेर्न पाउनु पनि तक्दिरमै लेख्नुपर्ने रेछ है” कहिलेकाहीँ हामी जिस्क्याउँथ्यौ ” तिमीहरूलाई पनि लोभ लाग्यो क्या हो मोरा हो” भन्दै गाडीमा बस्थे ।

यो क्रम चलेको करिब ६ महिना भैसकेको थियो। यही बिचमा जेठी रानी अमेरिका सवारी हुनु भएको थियो। कवीन्द्र सर जेठीसँग चाहिँ असाध्य डराउँथे।उनको अगाडि पूरा न्यास ध्यान धूप आरती नियममा चल्थे। तर कान्छी रानी चैँ कवीन्द्र सरलाई अलिक हेप्थिन । शायद लभ गरेर ल्याएको भएर पो हो कि। जेठी अलिक रिजर्भ हुनुहुन्थ्यो ।कम बोल्ने।तर सबैको ख्याल गर्ने। कसले खायो कसले खाएन, कस्लाइ के दुख परेको छ, को छुट्टीमा जान खोजिरहेको छ, कस्लाइ खर्चको जरुरत छ, सब हेर्नुहुन्थ्यो। अमेरिका गएपछि यता हामी पनि अलिक टुहुरा जस्तै बनेका थियौ ।

एक दिन-
“आज नगरकोटमा पार्टी छ बाजे । कान्छी रानी साहेबलाई खाना बनाउनुपर्छ म ढिलो भो भने उतै नगरकोट पोस्टमै बस्न सक्छु” भनेर निस्कनु भो।

आज भीम पनि जाउलाखेल गयो।

अरू तिन जना सिपाही कान्छी रानी साहेब र म मात्रै हो भुजा खाने। बेलुकी ४ बजेतिर रानी साहेबलाई फोन आयो।आज कवीन्द्र सर नगरकोटमै बस्ने भनेर। भिमले पनि फोन गर्यो उ फुपूको घरमा बस्ने भनेर। मैले भेज खाना बनाए। आज मासुको परिकार थिएन। कान्छी रानी साहेब भान्सामा सवारी भो। मलाई कहिले ए बाजे भनी मर्जी हुन्थ्यो कहिले दिपु भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई बाजे भनेर सम्बोधन गर्दा पनि मजा लाग्थ्यो अनि कहिलेकाहीँ कवीन्द्र सर नभएको बेलामा दिपु भनेर बोलाउनु हुँदा पनि झन् मन पर्थ्यो। आज चैँ दिपु….

” हजुर रानी साहेब”
” राजा भुजा ज्युनार गर्न आइसिन्न नि थाहा पायौ ?”
” हजुरले मर्जी भो बल्ल थाहा भो”
” आज त भेज होला है”
” हजुर”
” अनि नन भेज खानलाई राजा साहेब नै हुनुपर्ने होर तिम्रो रानी साहेब देखेनौ लाटा ?”

” आज भीम नआउने रे फुपूकोमा गाछ। हजुर कालिज खानी मर्जी हुन्छ भने म तातोपानी तताउँछु र झक सिङ्लाइ खोरको कालिज काट्न लगाउँछु नि हुन्न”

” हुन्छ त्यसै गर आज हामी पनि वाइन पिउने हो”
” फेरि राजा टुप्लुक्क आइबक्स्यो भने”
” म छु नि बाजे किन चिन्ता लिन्छौँ ”
” हस्”
” तिमी पकाउँदै गर म माथि बेड रुममा हुन्छु”
” सवारी होस म बेड रुममा सबै कुरा लिई आउँछु”

मैले पानी तताए। झक सिंहले कालिज भुत्ल्यायो। भुजा तयार भो। सिपाहीहरूलाई खान खान दिए। रानी साहेब र म मात्रै बाकी। फ्रिज बाट वाइन निकाले। रानी साहेबलाई कालिजको फ्राई मासु र वाइन लिएर गए। आफ्नो शयन कक्षमा आराम गरिरहनु भएको रेछ। टेबुलमा वाइन र फ्राई मासु राखेर म तल भान्सामा जान लाग्दा-

” बाजे आज सँगै वाइन पिउने ल ?”….

मलाई अप्ठ्यारो लाग्यो। हुन्छ हुन्न केही भन्न सकिन।र भर्याङबाट छिटो छिटो तल ओर्लिए । छोप हालेर बनाएको आलुको अचार, किसमिस, पाकिस्तानी पेस्ता, भुटेको बदाम, कालो अङ्गुर र पापड लिएर गए। कोठाको वासना आज अर्कै थियो। बेलायती पर्फ्युम छरिबक्से छ। मधुर रङ्गिन क्यान्डिल जलाइ बक्सेछ।

” अघि नबोली गयौ त दिपु सिपाहीहरूलाई खाना देऊ ?”
” दिए हजुर”
” अब तिमी र म आज सङ्गै खाने पिउने”
” मलाई त लाग्छ हजुर नपिउकी। हजुर एक्लै पिइबक्स्यो म हेर्छु
” नलागे पिएको के मजा त बाजे अघिपछि पनि त राजा साहेब हुँदा सँगै पिएको हो नि। अलि अलि लागेपछि मेरो मुखमा पुलु पुलु घुरेर हेर्थ्यौ त अनि आज किन डराको ?”
” हजुर एक्लै होइबक्सिन्छ लाग्दै जाँदा कथमकदाचित्त म हजुरको मर्यादामा रहन सकिन भने नि…”
” म माफ दिउँला नि किन चिन्ता ?”
” केही गरी राजा साहेब आइबक्स्यो भने नि ? त्यति बेला मेरो गर्दन भैमा हुन्छ”
” चिन्ता नगर उहाँको कमजोरी मलाई थाहा छ म जोगाउँछु”
” म आजसम्म मर्यादामा रहे रानी साहेब”

” दिपु ! मलाई तिमी मन पर्छ। कवीन्द्र साहेबको चिन्ता छोड।स्त्रीलाई पुरुषको दासी भन्छन् त्यो गलत हो।यहाँ यस्तै भ्रम छरिन्छ।पुरुष चैँ महिलाको दास हो । यदि मन परेको छ भने स्त्रीको जस्तोसुकै गल्ती र अपराधलाई पनि पुरुषले माफ दिन्छ”

“ओहो हजुर कडा। पाल्पाली सेन वंशकी छोरी पो त है”
” आज तिमी र म मात्रै यहाँ कसले सुन्छ र हाम्रो कुरा”
” के मर्जी भएको भित्ताको नि कान हुन्छ रे नि त”

” कान मात्रै हुने तर नसुन्ने कान त्यो मासुको पाते डल्लोको के अर्थ? आँखा मात्रै हुने तर दृश्य नदेख्ने त्यो आँखाको नानी के काम? जिब्रो मात्रै हुने स्वाद थाहा नपाउने जिब्रो के काम ? ओठ मात्रै हुने तर मुस्कान मरेको ओठको के काम? मुटु मात्रै हुने धड्कन बिनाको मुटु जो मृत मासुको डल्लोको के काम? हात मात्रै हुने तर पौरख नगर्ने अल्छी हातको के काम ? सबै सबै चिजको समय अनुसारको काम हुनुपर्छ दिपु । पुरुष पुरुष जस्तै हुनुपर्छ ।स्त्री-स्त्री जस्तै हुनुपर्छ । स्त्री जस्तो पुरुष र पुरुष जस्तो स्त्री भएर के काम ?

रानी साहेबलाई आज वाइन मज्जाले लाग्यो। आजसम्म भन्न नसकेको कुराहरू खोलिस्यो। बाहिर हासे पनि मान्छेको भित्री जलन त लुकाएर राख्नुपर्ने हुन्छ । म आफ्नो मर्यादामै बसे। उहाँ एक्लै हुँदा पिउन पनि सकिन। उहाँको सुरक्षामा खटिएको एउटा सिपाही हु म । अनि मैले नै लक्ष्मण रेखा उल्लङ्घन गरे भने यो दुनियाँ कसरी चल्छ? रानीसाहेबलाइ खाना खुवाएर जब म तल ओर्लिँदै थिए एक्कासि रानी साहेबले मेरो हात च्याप्प समाउँदै मलाई एकोहोरो हेर्नू भो र भन्नू भो-

” दिपु तिमी मलाई असाध्य मन पर्छ ”

म कन्फ्युज भए । मेरो आनीबानी बोली व्यवहार व्यवस्थापन र मेरो असल चरित्र लाई मन पर्छ भन्नुभएको हो कि मेरो पुरुषपनलाई मन पर्छ भन्नू भएको हो केही बुझिन। सदाझैँ आफ्नै ओछ्यानमा सुते।निदाएछु।भोलिपल्ट घामको न्यानो झुल्को सँगै रानी साहेबलाई चिया लिएर शयन कक्षमा पुगे

” दिपु हिजो मैले केही गडबड त गरिन नि है? ”
” गरिबक्सेन।हिजो हजुर शान्त रहनु भो।मलाई मनको पीडा पोख्नु भो। सबै खानेकुरा मीठो मानी ज्युनार भो खुसी लाग्यो”
” तिमीले वाइन पिएनौ नि किन?”
” कुनै दिन पिउला नि किन चिन्ता लिइबक्सिन्छ”

म भान्सामा गए। भीम आइपुग्यो। कवीन्द्र साहेब उतैबाट अफिस गैबक्सिन्छ रे। आज सोलारले काम गरेन। रानी साहेबलाई नुहाउन तातोपानीको व्यवस्थापन भयो। भीम तातोपानी लिएर शयन कक्षमा गयो।

कवीन्द्र सर कहिलेकाहीँ कान्छी महारानी लिएर राति राती क्लब जानी भनेर निस्किनु हुन्थ्यो । त्यो बेला गाडी आफै चलाउनु हुन्थ्यो । चालक जाँदैनथ्यो। कति बेला आएर सुथ्थे हामीलाई थाहै हुन्थेन । ठुलो घरको ठुलै चाला । एक दिन खाना पकाउने क्रममा मलाई भिमले एउटा जिज्ञासा राख्यो-

“सु.मे साहेब! सुन्नु न यो गर्लफ्रेन्ड श्रीमती साटासाट गर्ने क्लब पनि
छ रे नि काठमान्डुमा हो त?”
” हैट कसरी साट्ने हो? कसले भन्यो तलाइ मूर्ख”?
” हो रे क्या सर ! पत्याउनुन ।सधैँलाई होइन नि एक दुई
घण्टालाई । रमाइलो गर्ने क्लबमा रे। भिआइपि व्यक्तिहरू मात्रै”
” लु पत्याइन। नजाने गाउँको बाटो नसोध सिपाही भएर”
” साहेब त्यता जान पो पल्केका छन् कि क्या हो ह सर”
” गए त गए युद्धमा जान पो हुन्थ्यो प्रेममा जान के भो त”?

बेलुका पटक्कै निन्द्रा परेन।यो मोरो भिमले आज अनौठो कुरा पो गर्यो बा। आधा पत्याउन सकिने आधा चैँ सम्भावना नै नभएको जस्तो पो कुरा । पिउने बानी पनि छैन।कुनै कुराको पनि अम्मल छैन।घर नगएको पनि छ महिना भैसकेको छ। आमाले बिहे गर्ने भन्दा पनि सेकेन्ड लेफ्टन भएसी मात्रै गर्छु भनेर टार्दै आए। राजा साहेबले छुट्टी दिए पनि कान्छी रानी साहेबले नजानु भन्नुहुन्छ । हिजो खाना खादा पनि तिमी मलाई असाध्य मन पर्छ भन्नुहुन्छ । फेरि कविन्द्र साहेबको पनि धेरै नजिक छु। सबै जिम्मेवारी मेरै थाप्लोमा छ। ठुली रानी साहेब अमेरिका गएपछि यो घरमा मनलाग्दी चल्छ । न कवीन्द्र साहेब नै आफ्नो लाइनमा न कान्छी रानी साहेब आफ्नो अनुशासनमा । लोग्ने नभएको बेलामा एउटा पुरुषसँग सँगै बसेर वाइन पिऊ भनेर भन्ने स्वास्नी मान्छे कति साहसी ! आम्मै खै मैले त केही भन्न सकिन। मैले पनि आफ्नो दायित्व बिर्सिदिएको भए के पो हुन्थ्यो हैट….

सोच्दासोच्दै कति बेला निदाएछु पत्तै भएन। एकै पटक बिहान खोर को भाले बासेपछि पो झस्किए।

शुक्रवारको रात।घरमै पियौ हामी तीनले त्यो दिन। राजा साहेब रानी साहेब र मैले।

मलाई रानी साहेबले कर गरिस्यो।

दुई गिलास रातो वाइन पिए। राजा रानी साहेब त फिट्टु। पिउँदा पिउँदै मात्तिँदै गएसी खै राजा साहेबलाई के सनक चढ्यो अचानक चालक बोलाऊ घुम्न निस्क्यु भन्नू भो।

रानी साहेब तयार होइबक्स्यो।मैले लुगा चेन्ज गरे। हामी निस्क्यौ। रातको एघार बजिरहेको थियो।सडकमा गाडी चल्न छोडिसकेको थियो। पुलचोक कटेको सम्म थाहा छ जावलाखेलको कुनै गल्ली भित्र घुसेपछि एउटा भव्य घर भित्र छिर्यौ हामी । सबै जोडी झुमेर नाचिरहेका ।पिइ रहेका। कस्तो अचम्मको ठाउँ रहेछ यो।

राजा हातमा एक गिलास वाइन लिएर एउटी भर्खरैकी तरुनीसँग नाच्न थाल्नु भो।

म र रानी साहेब सँगै थ्यौ। ” कहाँ यो महारानी”
मैले साउती गरेर सोधे ”

एकै छिनमा बत्तीको लाइन गयो। हल अन्धकार भो। बजिरहेको गीत बज्न छोड्यो। मानिसहरूको एकाएक सन्नाटा सुरु भो। त्यो हल बिस्तारै खाली हुन थाल्यो। अँध्यारोमा जोडी मिलेर अन्त कतै अर्को स्थानमा यात्रा गरे जस्तो भान हुन थाल्यो ।

जोडी छायांहरु नदी जस्तै बग्दै महासागरतर्फ बगेजस्तो लाग्न थाल्यो।

म एक्लै थिए। अलमलिए।म बेजोडी आएको । राजा साहेब पनि देखिन। रानी साहेब पनि देखिन।एकै छिनमा कता कता एउटा कोमल हातले स्पर्श गरे जस्तो लाग्यो। कस्तो कोमल अनुभूति भो। हातले हातमा च्याप्प समात्यो।मुहार चिन्न सकिन।कपाल लामो छ। अत्तर मगमग वासना आइरहेको छ। त्यो हातले समातेर मलाई खै अर्कै सन्सारमा लगे जस्तो लाग्यो।

कोठामा चुकुल लागेपछि पो झल्यास सम्झे भिमले भनेको त्यो नाइट क्लबको बारेमा । केही बोलिन। निःशब्द भए । मदहोशी भए । सारा शरीर झङ्कृत भो। सबै लाज निस्सङ्कोच निख्रिएर कोसीको निर्मल धारा अलमस्त बगिरहे जस्तो। श्वास आफ्नैको जस्तो । हात आफ्नैको जस्तो। धड्कन आफ्नैको जस्तो । ओठ कहिले कतै छामिसकेको जस्तो… उफ् यो माद यो हुरहुरती बलिरहेको कम्पन ! अँध्यारोमा वैंशले मात्तिएर पुलुक्क देखिएकी जुनकिरी जस्तै। पसिनाले निथ्रुक्क भिजेछु। दश मिनेट पछि परिचित आवाज विस्फोट भो कानमा-

” दिपु…! साहेबलाई केही नभन्नु है मेरो प्यारो मान्छे”
मैले आत्तिएर भने-
” हस् रानी साहेब”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट