विपत्तिमा राज्यको चरित्र : दास जनता र मालिक सरकार-Sutra News

विपत्तिमा राज्यको चरित्र : दास जनता र मालिक सरकार

जनताको बलिदानले ल्याएको यो व्यवस्थामा मन्त्रीहरु बेलून फुक्दै र हेलिकप्टर उडाउदै मोज गर्दा म:म पसलका कामदारले एम्बुलेन्स समेत नपाउँने ?

सोमबार, ५ फाल्गुन २०८१

सोमबार, ५ फाल्गुन २०८१

काठमाडौं । वि.सं. २०२८ सालमा प्रकाशित “प्रमिथस” महाकाब्य ग्रीक राजकुमार प्रमिथसको कथालाई आधार बनाएर हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए । त्यस महाकाब्यमा प्रमिथसले पृथ्वीवासीको जीवन रक्षाका लागि स्वर्गबाट आगो चोरेर ल्याएको मिथक कथा छ, जो बडाे रोचक छ।



हिन्दु संस्कृतीमा आगो पन्चतत्व भित्र पर्छ। आगो केवल आगो मात्रै नभएर यो जीवन दायिनी शक्ति पनि हो। तर यहि आगो प्रती हेलचेक्र्याइ गर्दा यस्ले मानव जीवन खरानी हुन्छ। आगोमा सिङ्गै पृथ्वीलाई बाल्ने शक्ति छ। त्यही आगोको कारण अमेरिकाको लस एन्जलस सहर बल्यो। हजारौं मानिस बेघरबार बने। खरबौ डलर बराबरको सम्पत्ति खरानी भए ।

अमेरिका जस्तो विश्वको शक्तिशाली राष्ट्र पनि आगोसंग हार खायो । त्यसैले भनिन्छ आगो र पानीसग नजिस्किनु । हाम्रो शरीर पनि आगो र पानीकै सम्मिश्रण हो। आगो आविस्कार भएको होइन यो त सूर्यको जन्मसंगै जन्मिएको हो। हामी आफुलाइ पर्दा होशियार, ऎया, आथ्था, ओहो, र आकुलव्याकुल हुन्छौ आगोले पोल्यो भने, तर त्यही आगोले अरुलाइ पोल्दा त्यसबाट हुने औडाहा, क्षति, पीडा बोध गर्न सक्दैनौ ।

शरीरमा प्राण (आगो) रहुन्जेल हामीलाई यदि बाहिरी आगोले पोल्यो भने पीडा हुन्छ तर त्यही शरीर भित्रको आगो (प्राण) निभ्यो भने बाहिरी आगोले पोल्दा हामीलाई अलिकति पनि डाहाको अनुभूती हुँदैन । वास्तवमा आगोको भाष्य यहि हो।

मृत शरिरलाई आगो लगाउदा त्यसले कहिले पोल्यो भन्दैन किनकि उ भित्र रहेको आगो पहिल्यै निभिसकेको हुन्छ। आगोसंग समदुरीमा रहनुपर्छ नत्र यस्ले हामीलाई बाल्छ। आगोले जीव हो कि अजीव हो चिन्दैन। आगोले साधारण होकि असाधारण हो पनि जान्दै र आगोले राजा हो कि रन्क हो त्यो पनि बुझ्दैन । अनि आगोले मन्त्री हो कि साधारण नागरिक हो मतलब गर्दैन। उस्को काम केवल तातो दिने हो वा भष्म बनाइदिने हो ।

गत शनिबार पोखरा भ्रमण बर्षको समुदघाटन गर्ने क्रममा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भए । यहि हप्ता कमलपोखरीमा रहेको सानदार म:म पसलमा ग्यास बिस्फोट भइ आगलागी हुँदा ११ जना कामदार घाइते भए । चार जनाको उपचारको क्रममा मृत्यु भैसकेको छ। यतिबेला मन्त्री र मेयरसंगै म:म पसलका कामदार पनि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका छन।

मन्त्री र मेयर बेलून बिस्फोटमा घाइते भए भने म:म पसलका कामदार ग्यास बिस्फोट भएर घाइते भए । म:म पकाउने कामदार रविन राई र भीम बहादुर महाकविका “प्रमिथस” महाकाब्यका पात्र प्रमिथस जस्तै हुन, तिन्ले भोक लागेकाहरुको भोक समन गर्न म:म पकाउने काम गर्थे। ती अब पृथ्वीमा छैनन् ।

आगोको कारण तिनीहरू ईश्वरका प्यारा भए । राज्य ले न तिन्लाइ उपचारमा सहयोग गर्यो न तिन्को कुनै इन्स्योरेन्स थियो। तिन्ले छिटो उपचार पाएको भए प्राण गुमाउन पर्दैनथ्यो होला। शरीर जल्नासाथ बर्न हस्पिटल नलगेर हिमाल हस्पिटल लगियो। ती साधारण थिए। उपचारमा पनि हेल्चेक्र्याइ भयो। न तिन्ले समयमै बर्न हस्पिटल पाए, न तिन्ले छिटो उपचार गर्न एम्बुलेन्स पाए। हेलिकप्टरको त कुरै नगरु । हेलिकप्टर चढ्ने त मन्त्रीले मात्रै हो नेपालमा। पोखरा बिस्फोटको घटनालाइ लिएर गृहमन्त्रीले अहिले ८ सदस्यीय छानबिन आयोग गठन गरेका छन । तर त्यही प्रकृतिको घटना सानदार म:म पसलमा ग्यास बिस्फोट भएर मृत्यु भएका कामदारको लागि खै त आयोग गठन ?

ग्यास बिस्फोटनको जिम्मेवारी त राज्यले लिनुपर्ने हो नि । राज्यले दायित्वबोध त सर्वसाधारणका पनि उतिकै लिनुपर्ने हो । नेपालमा आयात हुने अधिकांश ग्यास सिलिन्डरको गुणस्तर चेक गर्ने/गराउने काम कस्को हो ?

सर्वसाधारणको जीवन त जीवन नै होईन भन्ने भाष्य सिर्जना भएको छ। लोकतन्त्र र गणतन्त्र जनता मरेर ल्याइदिनुपर्ने अनि तिनै जनता मरेर ल्याएको शासन ब्यवस्थामा मन्त्रीहरु बेलून फुक्दै र हेलिकप्टर उडाउदै मोज गर्दा सर्वसाधारण गरिब कामदार चाहिँ म:म पसलमा काम गर्दा ग्यास पड्किएर मर्दा पनि न कुनै राम्रो उपचार न समयमा एम्बुलेन्स न कुनै इन्स्योरेन्स ।

राज्यको गरिब जनतामाथिको रैतिको ब्यवहार, गणतन्त्र आउँदा पनि परिवर्तन नहुँदामा, जनता सधैं दास र सरकार सधैं मालिक हुने परम्पराको अन्त्यका लागि के फेरि आगो नै बाल्नुपर्ने हो र ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट