

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आफ्ना नेता कार्यकर्ताहरुलाई धमाधम कारबाही गरिरहेको छ । पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिनेदेखि एमालेबाट निष्कासित भएका डा. भीम रावलको पक्षमा देखा पर्नेहरु कारबाहीको मुख्य निसानामा पर्ने गरेका छन् ।
यसैबिच नेकपा एमालेले अछामका पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य रहेका पाँच जनालाई निष्कासन गरिएको हो ।
सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर तथा प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए ।
प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको देखिएकाले पाँच जनालाई निष्कासन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
उनीहरू एमालेका पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेपछि कारबाहीमा परेका हुन् ।