

काठमाडौं । लगातार बृद्धिका बिच साताको पहिलो कारोबार दिन (आइतबार) भने स्थानीय बजारमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले सस्तिएको छ । शुक्रबार प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ आइतबार १ लाख ५० हजार २ सय रुपैयाँमा झरेको हो ।
महासंघका अनुसार गएको साता स्थानीय बजारमा सुनको भाउ २२ सय रुपैयाँले बढेको थियो । सामान्य उतारचढावकै बिच सुनको भाउ निरन्तरजसो उकालोमा थियो ।
सुनको भाउ घट्दै गर्दा स्थानीय बजारमा चाँदीको भाउ पनि सस्तिएको छ । आइतबार चाँदीको भाउ २५ रुपैयाँले सस्तिएको हो ।
शुक्रबार प्रतितोला १८१५ रुपैयाँमा किनबेच भइरहेको चाँदीको भाउ आइतबार १७९० रुपैयाँमा झरेको छ ।
सुनको मूल्य जस्तै चाँदीको मूल्य गत साता करिब उकालोमा थियो । गएको साता चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको थियो ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २६२२ डलरमा किनबेच भइरहेको छ । अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्यमा आउने घटबढसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा घटबढ हुने गरेको छ ।