काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिका २ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
विं.सं. २०७० देखि व्यावसायिक किबी खेती सुरु गरेका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनमा बित्दै आएको हो । उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबी फलेको छ ।
शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थालेका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए । किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा दोलखाबाट ११० बोट ल्याएर खेती गरेको जानकारी दिए ।
मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सबै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताए । उनले भने, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ ।”
किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बीबीसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिए ।
विं.सं. २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उनले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गरे ।
सुरुका वर्ष प्रतिकिलो पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताउँछन् ।
“किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनु पर्दैन, बगानभित्र आलु, साग सब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ”, उनले भने, “कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु ।”
पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित १५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिए ।
हाल बिरुवा र फलबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी गरिरहेका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन् ।