काठमाडौं । साउदी अरब सरकारले दुई महिनाका निम्ति ‘हुरुब’ हटाएको छ । योसँगै साउदीमा अवैध रूपमा रहेका नेपालीलगायत आप्रवासी कामदारलाई वैध हुने बाटो खुलेको छ ।
साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गरी दुई महिनाका निम्ति हुरुब हटाइएको जनाएको छ । साउदीले सन् २०२४ डिसेम्बर १ देखि २०२५ जनवरी २९ सम्म (०८१ मंसिर १६ देखि माघ १६ गतेसम्म) ६० दिनको अवधिमा हुरुब हटाई अवैध कामदारलाई नयाँ कम्पनीमा जाने अवसर प्रदान गरेको हो ।
साउदीले दुई महिनाका निम्ति हुरुब हटाएपछि रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै अवैध रहेका नेपाली कामदारलाई वैध बन्न आग्रह गरेको छ ।
साउदी बोलीचालीको भाषामा ‘हुरुब’ भन्नाले कम्पनीले कामदार कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइन सिस्टममा ‘रिपोर्ट’ गरेको अवस्था हो । साउदीमा नेपालबाट जुन कम्पनीमा काम गर्न सम्झौता गरी गएको हो, त्यसैमा कार्य गर्नुपर्छ । आफूखुसी उक्त कम्पनी छोडेर अर्कोमा काम गर्न जान पाइँदैन । यसैकारण हुरुब भएको व्यक्तिको अवस्था साउदीमा अवैधानिक हुने गर्छ ।
हुरुब हटाई नयाँ कम्पनीमा जानका निम्ति ‘किवा’मा खाता खोलेको हुनुपर्छ । नयाँ कम्पनीबाट किवामा ट्रान्सफरका निम्ति रोजगार सम्झौतासहितको अनुरोध गर्नुपर्छ । किवामा लगइन गरेपछि कामदारले १० दिनभित्र अध्ययन गरी नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्वीकार गर्नुपर्छ । यो कार्य २०२५ जनवरी २९ भित्र गरिसक्नुपर्नेछ ।
रोजगारदाता र कामदारबीच सम्बन्ध स्थापित, नियमित र सञ्चालन गर्न साउदी सरकारद्वारा विकास गरिएको अनलाइन वेबसाइट वा प्लेटफर्म ‘किवा’ हो ।
किवा वेबसाइटमार्फत कामदारले कार्यानुभवको प्रमाणपत्र प्राप्त गर्न, आफ्नो रोजगार सम्झौता हेरी स्वीकार/अस्वीकार/पुनरवलोकन, रोजगारी अन्त्य, नयाँ कम्पनीबाट रोजगारीको अनुरोध प्राप्त गर्नलगायत धेरै सुविधा प्राप्त गर्न सक्छन् ।
कामदार कम्पनीमा अनुपस्थित रहेको भनी कम्पनीले सिस्टममा उल्लेख गर्नासाथ किवामा अकाउन्ट हुने व्यक्तिहरूको मोबाइलमा म्यासेज जान्छ । किवामा अकाउन्ट नहुने व्यक्तिले हुरुब लागेको म्यासेज प्राप्त गर्न सकिँदैन ।
“हुरुब हटी नयाँ कम्पनीमा ट्रान्सफर भएपश्चात् कामदार साउदीमा अवैध नहुने र नयाँ कम्पनीले ‘अकमा’ बनाई वैधानिक रूपमै आफ्नो कम्पनीमा काममा लगाउन सक्छ,” नेपाली दूतावासले भनेको छ ।