दक्षिण चीनमा रेलमार्ग निर्माण स्थल भत्किँदा १३ जना बेपत्ता-Sutra News

दक्षिण चीनमा रेलमार्ग निर्माण स्थल भत्किँदा १३ जना बेपत्ता

बिहिबार, २० मंसिर २०८१

बिहिबार, २० मंसिर २०८१

काठमाडौँ । चीनको दक्षिणी शहर शेञ्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माण स्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएका छन् ।



बाओआन जिल्ला विपत व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शेन्जेन–जियाङमेन रेलमार्ग निर्माण स्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।”

बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । विपत व्यवस्थापन विभागका अनुसार अधिकारीले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

उद्धार कार्यका लागि बिहीबार बिहान घटनास्थल नजिकका प्रमुख द्रूत रेलमार्ग बन्द गरिएको शहरका अधिकारीहरूले बताएका छन् । दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्गको निर्माण सन् २०२२ मा सुरु भएको थियो ।

कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्य रूपमा लिने गरिएको छ । गत अगष्टमा दक्षिण पश्चिमी सिचुआन प्रान्तमा भएको खानी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट