काठमाडौं । बानेश्वरको अल्फाबीटा कम्प्लेक्सको अनधिकृत संरचनामा काठमाडौं महानगरपालिकाको डोजर चलेपछि नेकपा (एमाले) र काठमाडौं महानगरपालिकाबिच टकराब सुरु भएको थियो । अल्फाबीटा घटनापछि एमालेको सिंगो टिम नै काठमाडौं महानगरका प्रमुख बालेन साह ‘बालेन्द्र’विरुद्ध खनिएको थियो ।
हुन पनि महानगरले डोजर चलाएको अल्फाबिटा एमाले निकटस्थ द्विराज शर्माको हो । जसको रक्षार्थ एमाले उभिनु अन्यथा थिएन ।
यद्यपि, अल्फाबिटादेखि सुरु भएको विवाद अहिले निकै पेचिलो अवस्थामा पुगेको छ । मंसिर ७ मा शक्ति प्रदर्शनको नाममा एमालेले दरबारमार्गमा गरेको जागरण सभापछि महानगरले फोहोर मैला तथा प्रदूषण गरेको भन्दै एक लाख जरिवाना तिराउने निर्णय गरेपछि अवस्था पेचिलोपूर्ण छ ।
अहिले महानगर जसरी पनि एमालेलाई जरिवाना तिराएरै छाड्ने पक्षमा छ भने एमालेले महानगरको निर्णयलाई ‘स्टन’ भन्दै बलजफ्ती बेवास्ता गर्न खोजेको छ । महानगरले एमालेलाई केन्द्रीय कार्यालयमै पुगेर पत्र दिएको थियो ।
तर, एमाले केन्द्रीय कार्यालयले आफू आयोजक नभएको भन्दै पत्र बुझेन । जसलाई पुनः महानगरले सोमबार हुलाकमार्फत पठाएको छ ।
एमालेले महानगरको कारबाही निर्णयलाई ‘औचित्यहीन’ भनेको छ । महानगरको निर्णयबारे एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भनेका छन्, ‘यो पूर्ण स्टन्टबाजी हो, यस्ता वाहियात चटकलाई एमालेले सम्बोधन गर्दैन ।’
यद्यपि, महानगर भने अडान नफेर्ने निष्कर्षमा पुगेको देखिन्छ । महानगरले ‘ऐन र प्रावधानअनुसार जरिवाना गरिएको’ भन्दै पछि नहट्ने संकेत गरेको छ ।
महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले भनिन्, ‘विगतमा पनि अन्यलाई गरेको अनुभव छ, अहिले पनि कानुनअनुसार नै कारबाहीको निर्णय भएको हो, कानुनअनुसार हुन्छ ।’
घटनाक्रमलाई हेर्दा, दुवै पक्ष टसमस हुने देखिन्न । एकले अर्कोलाई झुकाएरै छाड्ने नीतिमा दुवै देखिन्छन् । जसले थप द्वन्द्व बढाउने निश्चित छ ।
निरन्तर आमने–सामने
सतहमा एमाले–महानगरबिचको टकराब देखिए पनि अन्तर्यमा द्वन्द्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन साहबिचको हो । दुईबिच सुरुवाती समयदेखि नै टकराबको अवस्था देखिन्छ ।
महानगर प्रमुखमा जितपछि ओलीले आफ्नै निवासमा बोलाएर बालेनलाई तबला उपहार दिए पनि तलबा लिँदा–दिँदा नै अनुहार राम्रो थिएन । जब बालेन एकपछि अर्कोगरी एक्सनमा उत्रिए, त्यसपछि द्वन्द्व चुलिन थाल्यो ।
सुरुवाती अल्फाबीटाबाट भएको देखिए पनि यसको अन्तर्यमा अन्य घटनाहरु पनि छन् । काठमाडौंको फुटपाथ व्यवस्थापन र फोहोर मैला व्यवस्थापनलगायतका विषयबाटै द्वन्द्व बढेको देखिन्छ । जुन न्यूरोडको सडक पेटी विस्तारमा राम्रैसँग पोखिएको पाइन्छ ।
सँगै खोला तथा नदी छेउछाउका सुकुम्वासी बस्ती हटाउने सन्दर्भमा पनि ओली र बालेन आमने–सामने देखिएका थिए ।
योबिचमा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा प्रकरण, काठमाडौं महानगरपालिकाको नदीको मापदण्ड कायम गराउने निर्णय लगायतले विवाद बढाएको पाइन्छ । जसको शिलाशिलाकै रूपमा प्रत्येक महानगरका बैठकमा एमाले वडाध्यक्षको असहयोगलाई पनि लिन सकिन्छ ।
पछिल्लो पटक आउँदा उपमेयर सुनिता डङ्गोल पनि बालेनलाई अप्ठ्यारो पार्ने नीतिमा अगाडि बढेकी छिन् । उनी एमालेबाट निर्वाचित उपमेयर हुन् ।
नसुहाउँदो जोरी, कानुनी हिसाबले कमजोर एमाले
व्यापारिक क्षेत्र दरबारमार्गमा एमालेले शक्ति प्रदर्शन गर्यो, फोहोर गर्यो, जसमा महानगरले जरिवाना तिराउने पत्र काट्यो । तर, एमाले महानगरको निर्णयलाई ‘औचित्यहीन’ भन्दै अस्वीकार गरिरहेको छ ।
अधिवक्ता सुरेन्द्र तिमिल्सिना एमालेले राजनीतिक स्वार्थमा बलमिँचाई गरे पनि बलमिँचाई कानुनको परिधि बाहिर भएको बताउँछन् । उनका अनुसार एमालेले महानगरको क्षेत्राधिकारमाथि समेत प्रहार गरेको छ ।
“बुझ्नुपर्ने विषय, दरबारमार्ग प्रदर्शन गर्ने क्षेत्र होइन, त्यो पर्यटकीय व्यापारिक क्षेत्र हो, जहाँ प्रदर्शन गर्नेलाई समेत रोक्न सक्ने अधिकार ऐनअनुसार नै महानगरलाई छ”, तिमिल्सिना भन्छन्, “महागनरले त फोहोर गरेको कारणमा जरिवाना तिराउने निर्णय गरेको छ, जसलाई समेत मान्दिन भन्नु पूर्ण बलमिँचाई हो, यो निकै गैर कानुनी रवैया हो ।”
तिमिल्सिनाको बुझाइमा एमाले आफ्नै बलमिँचाईले फस्न सक्छ ।
पुराना वामपन्थी नेता मुकुन्द आचार्य दरबारमार्गमा पोखिएको एमाले–बालेन टकराबको अन्तर्य निकै नै नमिठो खालको भएको बताउँछन् । उनको बुझाइमा यो टकराब एमालेका लागि महँगो पर्न सक्छ ।
“दरबारमार्गमा देखिएको विषय सामान्य छैन, यसको अन्तर्य गम्भीर छ”, आचार्यले भनेका छन्, “एमालेले बेलैमा चेत्नुपर्छ, यो टकराबको अन्तर्य आमले बुझ्दा एमालेलाई निकै घाटा छ ।”
आचार्यको बुझाइमा काठमाडौंभित्रका अवैधानिक आम्दानीका स्रोतमाथि बालेनले प्रहार गर्दा विवाद अन्य शैलीमा प्रकट भएको छ । जुन आमले बुझेका छैनन् ।
“फुटपाथ, सडक पेटी, पार्किङ, खोला किनारमा को छन् ? कसले आम्दानीको स्रोत बनाइरहेको छ ? त्यसको खोजी भयो भने टकराबको जरासम्म पुग्न सकिन्छ”, आचार्य भन्छन्, “यो ओली र बालेनबिचको टकराब होइन, यो दरबारमार्गको विषयमात्रै होइन ।”