काठमाडौं । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ ।
१८ पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै उनलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।
दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभई युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन् । मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ ।
समर्पण र अनुशासनमार्फत सुनारले आफ्नो शारीरिक तन्दुरुस्ती र जोसले खेलकुद र पहिचानको अवसर सीमित रहेका ग्रामीण समुदायमा सकारात्मक प्रभाव पार्न योगदान पुर्याउँदै आएका छन् । मदर टेरेसाका मूल्य मान्यतासँग मेल खाने योगदानलाई प्रोत्साहित गर्न र प्रवर्धन गर्न स्थापना गरिएको यो पुरस्कार उपेक्षित समुदायको उत्थान, वञ्चित वर्गका लागि स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न तथा विश्व शान्ति र सौहार्दता भावना जागृत गराउन करुणा र निःस्वार्थ सेवा गरेबापत प्रदान गर्ने गरिन्छ ।
पुरस्कार प्राप्त गरेपछि सुनारले विश्वभरिका सामाजिक रूपमा प्रभावशाली र बौद्धिक व्यक्तित्व आफूपनि सम्मानित हुन पाउँदा आफूले गरेको मेहनतले सार्थकता पाएको महसुस भएको बताउँदै नेपाललाई विश्वभर चिनाउन सकेकाेमा गौरवान्वित भएको बताए ।
हाल अमेरिकामा रहेर पनि पार्करजस्तो उल्लेखनीय कलाबाट नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय भएका उनलाई अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो ।