काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बजारमा एकपछि अर्काे रेकर्ड बनाइरहेकाे छ । उच्च शाे पाएर इतिहास रचेकाे फिल्मले एकै दिन उच्च कमाइ गरेर पनि रेकर्ड बनाएकाे छ ।
शनिबार फिल्मले घरेलु बजारबाट एकैदिन तीन करोड ८९ लाख ग्रस कलेक्सन गरेको थियाे । उक्त दिन फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएको थियाे ।
जुन नेपाली चलचित्रमा हालसम्मकै उच्च शाे र कमाइ हाे ।
यसअघि एकैदिनमा धेरै कमाउने नेपाली चलचित्रमा ‘कबड्डी–४’ बनेकाे थियाे । ‘कबड्डी–४’ले पहिलो दिनमा २ करोड ९० लाख ग्रस कमाएको थियो ।
हालसम्मकाे कमाइ कति ?
लक्ष्मिपूजाका दिन रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनकाे १२औं दिनमा चल्दैछ । याेबिचमा फिल्मकाे शनिबारसम्मकाे कमाइ सार्वजनिक भएकाे छ ।
फिल्म निर्माण पक्षले जनाएअनुसार प्रदर्शन भएको १० दिनकाे बिचमा घरेलु बजारबाट फिल्मले १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ ।
आइतबार र साेमबार पनि उच्च शाे पाएकाे र उस्तै दर्शक पाएकाे कारण फिल्मकाे कमाइ घटेकाे छैन । साथै, फिल्मले विदेशी बजारमा पनि राम्रै कमाइ गरिरहेकाे छ ।
दर्शककाे उत्साहपूर्ण सहभागितालाई हेर्दा फिल्म केही दिनमै नयाँ रेकर्ड बनाउने सम्भावना अधिक छ ।
सरोज पौडेलले निर्देशन गरेको फिल्ममा विजय बराल र प्रकाश सपूतको मुख्य अभिनय छ । यसैगरी मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको अभिनय देख्न पाइन्छ ।
गन्धर्व समूदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाबु छोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा बुनिएको छ ।
फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।