आन्तरिक समीकरणमा हेरफेरसँगै शेखरको छटपटी छरपस्ट-Sutra News

आन्तरिक समीकरणमा हेरफेरसँगै शेखरको छटपटी छरपस्ट

सोमबार, २६ कार्तिक २०८१

सोमबार, २६ कार्तिक २०८१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसभित्रको समीकरण क्रमशः बदलिँदो छ । संस्थापन र इतर मानिएका समूहहरु खण्डित हुन थालेका छन् भने नयाँ–नयाँ समूहहरु निर्माण हुन थालेका छन् ।



विशेषगरी सभापति शेरबहादुर देउवा निकट मानिने नेताहरु देउवाबाट टाढिएका छन् भने इतर समूहका नेताहरु उनीसँग नजिकिन थालेका छन् । पछिल्लो समीकरण फेरबदलसँगै सभापति देउवाका सुरक्षा कवज जस्ता देखिने उपसभापति पूर्णबहादुर खड्कासँगै नेता गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधिलगायत देउवासँग टाढिएका छन् भने देउवाको कडा विरोधी पहिचान बनाएका महामन्त्री गगनकुमार थापा, प्रदीप पौडेललगायत निकट देखिएका छन् ।

समीकरण बदलिएसँगै विशेषगरी इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइरालामा तिव्र छटपटी देखिएको छ । कोइराला कहिले देउवा निर्णयको समर्थनमा बोलिरहेका हुन्छन् त कहिले चर्को विरोधमा ।

पछिल्लो समय आफ्नै समूह विभाजित भएपछि डा. कोइरालाको छटपटी अनौठो शैलीमा बढेको छ । जसको परिणाम उनले कांग्रेस–एमाले समीकरणको विरुद्धमा मात्रै बोलिरहेका छैनन्, उनले पार्टीभित्र पनि सीमित नेताहरुलाई अगाडि सारेर अभियान चलाउन थालेका छन् ।

कोइरालाले केही युवाहरुलाई अगाडि सारेर शुक्रबारदेखि मेची–महाकाली संकल्प यात्रा थालेका छन् । कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा झापाबाट सुरु गरेको यो संकल्प यात्रा सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुंगिने जनाइएको छ । अभियान उद्घाटन कांग्रेस झापाका सभापति देउमान थेवेले गरेका थिए ।

यो अभियानले एकातिर इतर समूहको अहिलेको अवस्थालाई चित्रित गरेको छ भने अर्कोतिर कांग्रेसभित्रै अन्य समूहले अस्वीकृत गर्ने अवस्था पनि बनेको छ । केहीले मुख खोलेरै पार्टीको अभियान भन्न नहुने पनि बताइरहेका छन् ।

कोइरालाले गुट बलियो बनाउन र १५औं महाधिवेशनलाई केन्द्रित गरी पछिल्लो अभियान चलाएको देखिन्छ । २०७८ मंसिर–पुसमा सम्पन्न १४औं महाधिवेशनमा शेखरले सभापति पदमै प्रतिस्पर्धा गरेका थिए । तर दोस्रोपटक पनि शेरबहादुर देउवाले सभापति जिते । देउवासँग शेखरले प्यानल बनाएरै प्रतिस्पर्धा गरेका थिए ।

यद्यपि, यसपटक कसले देउवाको विश्वास जितेर पार्टी सभापतिको पद हत्याउने भन्ने राजनीति कांग्रेसभित्र चलिरहेको छ । जसमा कोइरालाले पछिल्लो अभ्यास गरेको देखिन्छ ।

यद्यपि, आफ्नै समूह नजोगाएका कोइरालाले थप विश्वास जितेर अघि बढ्ने अवस्था जटिल देखिन्छ । १४औं महाधिवेशनको बेलामा खडा भएको समूह योबिचमा कोइरालाकै कारण खण्डित बनेको छ । उनलाई उनकै निकटले विश्वास नगर्दा बाँकीबाट विश्वास जुटाउने अवस्था जटिल देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट