माधवलाई पार्टी जोगाउनै धौ धौ !-Sutra News

माधवलाई पार्टी जोगाउनै धौ धौ !

बिहिबार, २४ असोज २०८१

बिहिबार, २४ असोज २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्रको विवाद सतहमा देखिएको छ । अध्यक्ष माधव नेपाललाई पार्टीको आन्तरिक एकता जोगाउन चुनौती दिँदै असन्तुष्ट पक्षले दुई बुँदे माग पेस गरेको छ । गत असारमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनसँगै सुरु भएको विवादले उत्कर्ष रूप लिएको हो ।



महाधिवेशनपछि पदाधिकारी र पोलिटब्युरो चयनमा पार्टी अध्यक्ष माधव नेपालले एकलौटी गर्दा पार्टीमा चरम निराशा उत्पन्न भएको नेताहरूले दाबी गरेका छन् । अहिले असन्तुष्ट पक्षले केन्द्रीय समिति नै भङ्ग गर्न माग गरेको छ । यसले अवस्था असामान्य रहेको देखाउँछ ।

पार्टीको आन्तरिक एकता जोगाउने सम्बन्धमा भन्दै असन्तुष्ट पक्षले जारी भएको सूचनामा भनिएको छ– “(१) महाधिवेशनको म्याण्डेटविपरीत गरिएका सबै काम र कारबाही खारेज गरियोस् र (२) हाम्रो पार्टी नेकपा कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्थापनादेखि दशौँ महाधिवेशनसम्मका समग्र प्रक्रियाका साथै पार्टीभित्र उत्पन्न परिस्थितिको बारेमा गम्भीर समीक्षा गरी निष्कर्ष निकाली पार्टीको आन्तरिक एकता जोगाउँदै पार्टीको विकास र विस्तार गर्ने बाटो पहिल्याउनका लागि तत्काल केन्द्रीय कमिटीको बैठक बोलाइयोस् ।”

पार्टी नेतृत्वलाई दबाब दिन सयभन्दा बढी नेताहरूले पार्टी एकता जोगाउन चुनौती दिँदै आफ्नो माग राखेपछि पार्टी फुट्ने भय उत्पन्न भएको हो ।

दुई नेताले चेपिँदै पार्टी

नेकपा एसको दशौँ महाधिवेशनमा दुई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमा हुँदा पार्टी नेतृत्व गरेका माधव नेपाल र झलनाथ खनाल आमनेसामने भए । पार्टी गठनको बेला सम्मानित नेतामा बसेका झलनाथ खनाल पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएसँगै पार्टी फुटको संघारमा पुगेको थियो ।

पछि, झलनाथले नयाँ नेतृत्वमा भुसाललाई अगाडि बढाउन खाेजे । तर, महाधिवेशनसम्म माधवले प्रमुख तीन नेताहरूलाई मनाउँदै आफै अध्यक्ष बने । खनाललाई सम्मानित नेतामै राख्दा महासचिवमा भुसाल दोहोरिए ।

महाधिवेशनले तीन नेताहरूबिच सहमति गरी आगामी दिनमा पार्टीको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म टुङ्गो लगाउने सहमति गरेका थिए । पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको समस्या समाधान हुन नपाउँदै माधवलाई झलनाथले दबाब दिए ।

पार्टीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीले दिएको अभिव्यक्तिलाई लिएर झलनाथ आक्रोशित बने । एक अन्तर्वार्तामा चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता भूभाग भारतकै भएको बताएका थिए ।

नेपाल सरकारले संविधान संशोधन गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको नक्सा प्रकाशन गरेको छ । संविधानमा भएको विषयविपरीत अभिव्यक्ति दिँदा झलनाथ आक्रोशित बनेका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक ? यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो, यो देशद्रोही अभिव्यक्ति पनि हो, यो हाम्रो एकीकृत मातृभूमिविरुद्ध राष्ट्रघाती आवाज हो’ भन्दै कारबाही गर्न माग गरे ।

तर, अध्यक्ष नेपालले यसबारे कुनै प्रतिक्रिया नदिएर टार्न खोजे । यद्यपि, यसले विवादको तहलाई झल्काएको छ ।

खुलेआम नेतृत्वमाथि प्रश्न

एमाले विभाजन गरी नयाँ पार्टी बनाउँदा चर्चित बनेकी थिइन्, नेतृ रामकुमारी झाँक्री । माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ता गराउन नजिकबाट भूमिका खेलेकी झाँक्री अहिले भने पार्टी राजनीतिमा किरानामा पुगेकी छन् ।

दशौँ महाधिवेशन हुँदा उनी उपाध्यक्षमा पराजित बन्न पुगिन् । उदयमान नेतृको छवि बनाएकी उनी अध्यक्ष नेपालनिकट जयन्ती राईसँग पराजित बनिन् ।

महाधिवेशनमा आफू पराजित भएपछिको पहिलो अन्तर्वार्तामा उनले आफैले निर्माण गरेको पार्टी नेकपा एसको भविष्य नभएको अभिव्यक्ति दिइन् । पार्टी नेतृत्वमाथि प्रश्न गर्दै उनले आफू राजनीतिक सङ्कटमा परेको संकेत गरिन् ।

यस क्रममा उनले आफ्नो मूल पार्टी नेकपा एमालेको तारिफ गर्दै केपी शर्मा ओलीको प्रशंसा गरिन् । यसपछि अध्यक्ष नेपालले पार्टीको हित विपरीत अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिए ।
झाँक्री मात्रै नभई, पार्टीका नेता तथा सांसद प्रेम आलेले पनि खुलेआम नेतृत्वको विरोध गरे । उनले आफूले सांसद पदसमेत छाडिदिने धम्की दिए ।

उनले पार्टी विभाजनपछि भएको पहिलो महाधिवेशनसमेत बहिष्कार गरिदिए । उनले वडाध्यक्ष जित्न नसक्नेहरू पदाधिकारी बनेको भन्दै असन्तुष्टि जनाएका थिए ।

आफूलाई नेतृत्वले अपमान गरेको भन्दै उनले भनेका थिए, ‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीन पटक मन्त्री भइसकेको छु, त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्, त्यो पार्टी उँभो लाग्छ ?’

उनीहरूसँगै पार्टीभित्र नेतृत्वमाथि प्रश्न गर्दै पार्टी जोगाउने गरी काम गर्न माग गर्नुले पार्टी थप सङ्कटमा परेको स्पष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट