

काठमाडौं । बेलायत भ्रमणमा जान लागेका धरानका मेयर हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
साम्पाङले बुधवार असोज २८ गतेबाट लागू हुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
बिहीबारबाट सार्वजनिक बिदा हुने भएको कारण बुधबार नै साम्पाङले फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । मेयर साम्पाङ असोज २८ गतेदेखि बेलायत भ्रमणमा जाँदैछन् ।
साम्पाङले उपमेयर आइन्द्र विक्रम बेघालाई कार्यवाहक दिनुपर्नेमा अरुलाई दिएको भनी आलोचना भइरहेको छ ।
कानूनतः नगर प्रमुख वा गाउँपालिका अध्यक्षले सात दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ । तर, मेयर साम्पाङ साे व्यवस्थालाई लत्याउँदै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।