काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको निराशाजनक प्रदर्शन गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सुदूरपश्चिमको पोष्टमा त्रिभुवन आर्मी क्लबले १४ गोल हाने । सुदूरपश्चिमले १ गोल मात्रै फर्काउन सक्यो ।
आर्मीका लागि दिपा शाहीले एक्लैले पाँच गोल गरिन् । यस्तै अनिता लम्जेलले दुई गोल गर्दा बिमला चौधरी, हिमा चौधरी, शान्ति बिक, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्री देवी मगरले १-१ गोल गरिन् ।
सुदूरपश्चिमका लागि एक मात्र गोल निलम सिंहले खेलको ६७ औँ मिनेटमा गरेकी थिइन् । सुदूरपश्चिमले पहिलो खेलमा बागमती युथ क्लबसँग ५-१ को फराकिलो हाल व्यहोरेको थियो । अर्को खेलमा पुलिस क्लबसंग ९-० को अन्तरले पराजित भएको थियो ।