“आज देशमा स्वार्थ परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेश पट्टी अमुक हुने प्रवृत्तिको बोल बाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ । खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन । त्यसो हुनाले यो कुरा बुझ्नु परेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्था मात्र बलियो हुनसक्छ । तसर्थ, हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन् । नेपाली कांग्रेसले आफ्ना जन्म कालदेखि नै बेला–बेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ ।”
यी शब्दहरू नेपाली कांग्रेसका अध्यक्ष विश्वेश्वर प्रसाद कोइरालाको २०३३ साल पुस १६ गते देशवासीको नाममा जारी गरिएको अपिलको केही अंश हो । लामो प्रवास बसाइँपछि स्वदेश फर्किएर देशवासीको नाममा गरेको अपिलको प्रत्येक शब्दहरू आज पनि उत्तिकै सान्दर्भिक र तार्किक छन् ।
बिपी कोइरालाको १११औँ जन्म जयन्ती मनाइरहँदा, उनको विचार, मान्यता, सिद्धान्त, बिपीको राजनीतिक र साहित्यिक योगदानको बारेमा आज त्यति धेरै चर्चा परिचर्चा हुँदैन जति हुनुपर्ने हो, स्वयम् नवयुवा कांग्रेसीहरूमा यसको अभाव देखिन्न । आज बिपीलाई ब्यानर, तुल, पोस्टर, पम्पलेट, पर्चामा सीमित परिएको छ । तर, वास्तवमा बिपीलाई जीवनमा उतार्नु पर्ने थियो । त्यो कांग्रेस नेतृत्व गर्न सकेनन् वा चाहेर पनि गर्न मानेनन् ? त्यो उनीहरूले नै जानुन् । हिजो बिपीले भनेको स्वार्थ पराणयता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति कांग्रेस र कांग्रेसीहरू माझ नै हाबी छ । अहिले कांग्रेसमा पैसावाल र चाप्लुसी गर्नेहरूकै रजगज छ । आज कांग्रेसलाई कसैबाट खतरा छ भने त्यो कांग्रेसकै नेताहरूबाट । बिपीले बनाएको कांग्रेस यस्तो थिएन र बिपीले अहिलेको जस्तो कांग्रेस चाहेका पनि थिएनन् होला ! खसीको टाउको देखाएर, कुकुरको मासु बेचे जस्तै, अहिले पनि कांग्रेसीहरू बिपीको नाम, फोटो, योगदान, विचार बेचेर आफ्नो गुजारा चलाउँदै छन् । यो र यस्तो दोकानदारी कहिलेसम्म ?
पिताको भारत प्रवास र सामाजिक चेतना बिपीको लागि राजनीतिक प्रेरणाको सबैभन्दा ठुलो स्रोत थियो । त्यसै कारणले बिपीले जेलनेल र प्रवासको कष्ट उठाउन सक्नुभयो । १२ वर्ष जेल, २० वर्ष निर्वासित जीवन निर्वाह गर्नु सामान्य कुरा होइन । जहाँ जसरी बिताए पनि त्यो पुरै देशको लागि थियो; नेपाली जनताको हक, स्वतन्त्रता र न्यायको लागि थियो । २००७ सालको क्रान्ति बिपीकै चिन्तन, संगठन कुशलता र नेतृत्वले सम्भव भयो । २००७ सालको क्रान्तिले नेपालमा आधुनिक कालको प्रवेशद्वार खोल्यो । यो क्रान्तिको बारेमा शताब्दी पुरुष सत्यमोहन जोशीको भनाइ मननीय छ । उनी भन्छन्, “यो अकल्पनीय छलाङ थियो । राणाकाल देखेका–भोगेका मानिसले मात्रै त्यो उपलब्धिको गहनता बुझ्न सक्छन् । एक हिसाबले भने हो भने हामी मानिसै त्यसपछि भएका हौं । आम मानिसले हाम्रो पनि हक अधिकार हुन्छ भन्ने कुरा त्यसपछि नै महसुस गरेका हुन् ।”
२००७ को क्रान्तिपछि पाएको हक अधिकार ८० को दशकसम्म आइपुग्दा पनि संस्थागत हुन सकेका छैनन् । किन भएन भनेर अब कांग्रेसीहरू यसको उत्तर दिने बेला भएको हो । नेतृत्वकर्तालाई तिखो प्रश्न तेस्र्याउनै पर्छ । किन आम जनता यतिका समयसम्म हक अधिकार पाउन सकेनन् भनेर ।
बिपीसँग नेपाली समाजको आर्थिक–सामाजिक रूपान्तरणको एउटा स्पष्ट मार्गचित्र थियो । के आजको कांग्रेस नेतृत्वसँग नेपाली समाजको आर्थिक–सामाजिक रूपान्तरणको कुनै मार्गचित्र छ त ? छैन भने किन छैन ? बिपीको विचार र सिद्धान्त मान्ने पार्टीमा आर्थिक–सामाजिक रूपान्तरणको यस्तो खडेरी किन ? १५ वर्षभित्र सबै नेपालीको हैसियत आफ्नै जस्तै मध्यम वर्गीय जीवनस्तर पु¥याउने बिपीको स्पष्ट र समतावादी सोच, आजको कांग्रेसमा किन छैन ? आज कांग्रेस पार्टी हुनेखाने भन्दा पनि धन वानहरूको पार्टी भएको छ । गरिब गुरुवाको आवाज बन्नुपर्ने ठाउँ पैसावालाहरूको एजेन्डा बोक्न तम्सिएका छन् । कांग्रेसका युवा कार्यकर्ताहरूले बिपीलाई पढ्नु पर्छ, बिपीको विचार र सिद्धान्तलाई व्यवहारमा लागु गर्न नेतृत्वकर्ता घच्घच्याउनु पर्छ । सभा, गोष्ठी, सम्मेलन, बैठक, भाषणमा बिपीले यस्तो भनेका थिए, यो गर्नु पर्छ, यस्तो गर्नुपर्छ भनेर भन्दै गर्दा, मञ्चको अगाडीबाट परर बजेको तालिमा रमाउने होइन ।
विकासको बारेमा बिपीको मौलिक सोच थियो, जुन आजको कांग्रेस नेतृत्व र कांग्रेसीहरूमा छैन । देशमा पटक–पटक कांग्रेसकै नेतृत्वमा सरकार गठन भए पनि कांग्रेसले त्यसअनुरूप काम गर्न सकेका छैनन्, किन ? किन अहिलेको कांग्रेस नेतृत्वसँग बिपीको जस्तै स्पष्ट विचार छैन ? किन बिपीको विचार र सिद्धान्तलाई भाषणमा मात्र सीमित गरिएको छ ?
बिपीको प्रबुद्ध नेतृत्व एवम् ओजस्वी व्यक्तित्व र बिपीले अपनाएको स्वतन्त्र परराष्ट्र नीतिको कारण नेपालले विश्व समुदायमा आफ्नो मौलिक पहिचान बनाइरहेको थियो । भारत र चीन दुवै छिमेकीसँग नेपालको खुलस्त अडानसहितको सौहार्दपूर्ण सम्बन्ध कायम थियो र अन्तर्राष्ट्रिय मञ्चहरूमा बिपीले आफ्नो दृष्टिकोण र अभ्यासको विशिष्ट छाप दिएका थिए, जुन आजको कांग्रेसले गर्न सकिरहेको छैन । यस विषयमा कांग्रेस नेतृत्व गम्भीर भएर चिन्तन गर्नुपर्छ । कि हामी कहाँ, केमा, कति चुक्यौँ भनेर ? आजको कांग्रेस नेतृत्वले राजदूत नियुक्तिमा पनि भागबन्डा खोज्छ । भागबन्डाबाट पाएको कोटामा सक्षमलाई भन्दा पनि नेताले आनेताले आफ्नैलाई नियुक्त गर्छन् । यसको आशय यो होइन कि अरू राजनीतिक दलहरू यस्तो गर्दैनन् । गर्छन् सबै दलले गर्छन् तर, बिपीले संगठनको स्वरूप बनाउँदै गर्दा, कालान्तरमा गएर कांग्रेसले कात्रोमा पनि भागबन्डा खोज्छन् भनेर दुर–दुरसम्म कल्पना गरेका थिएनन् होला ।
क्रान्ति र परिवर्तनका लागि संघर्ष गर्ने व्यक्ति गिरफ्तार हुनु र जेल पर्नु अनपेक्षित कुरा होइन, निरङ्कुश सत्ता विरुद्धको संघर्ष गर्दा त्यस्तै हुन्छ नै । राजनीतिमा लाग्नेसँग गिरफ्तार हुनुका पछाडि निश्चित उद्देश्य हुन्छ, योजना हुन्छ । तर, आजको कांग्रेसमा गिरफ्तार हुनेहरूसँग यस्तो कुनै उद्देश्य, योजना छैन । यिनीहरू निरङ्कुश सत्ताविरुद्ध संघर्ष गर्दा गिरफ्तार हुने, जेल पर्ने कुनै खतरा छैन किनभने सत्ता सञ्चालक नै यिनैहरु हुन् । तर, पनि यिनीहरू गिरफ्तार हुने र जेल जाने भयमा बाचिरहेका छन् । जुन भयले प्रजातान्त्रिक भनिएको दललाई निरङ्कुशता तर्फ धकेलिरहेको छ ।
राणा शासनको विरुद्ध क्रान्ति गर्दा र २०३३ सालको भारत निर्वासन त्यागेर नेपाल फर्किँदा बिपीसँग राजनीतिक मिसन थियो, त्यसको उद्देश्य र गन्तव्य घोषित थियो । त्यहाँ लुकाउनुपर्ने कुरा केही थिएन । त्यसका लागि गिरफ्तार हुनु र जेल पर्नु अनपेक्षित थिएन । तर आज कुनै कांग्रेसका नेता गिरफ्तार भएर जेल जानुप¥यो भने यो अपेक्षित हो । र, आमजनता यस्ता नेतालाई हेयको दृष्टिले हेर्ने गर्छन् ।
२००५ सालमा काठमाडौँमा गिरफ्तारबाट बिपी बच्न सक्थे, तर बिपीले त्यो चाहेनन् । गिरफ्तार भएपछि बरु मोहन शमशेरसँग आमनेसामने हुने अवसर पनि जुट्न सक्ला भन्ने सोच बनाएका थिए । नभन्दै, छुट्ने क्रममा बिपीको मोहन शमशेरसँग भेट भयो र बिपीले आफूले खोजेको परिवर्तनको उद्देश्य अर्थात् राणा शासनको अन्त्य गरेर र जनताको शासन स्थापना गर्न चाहेको कुरा मोहन शमशेरकै मुख अगाडि प्रस्ट भने । आजको कांग्रेसमा नेताहरू गिरफ्तारबाट बच्न अनेक हतकण्डा लगाउने गर्छन् । सरकार नै परिवर्तन गर्नु परे गर्छन् तर, गिरफ्तारी दिँदैनन् ।
बिपीमा प्रबौद्धिकता (इन्लाइटेनमेन्ट) मात्र होइन, अद्भुत क्रियाशीलता (एक्टिभिज्म) पनि थियो । प्रबौद्धिकताले बिपीको क्रियाशीलतालाई ओज दिन्थ्यो र मानिसलाई बौद्धिक– भावनात्मक स्पर्श, जसको अभावमा अधिकांश नेताका विचार र कामहरू अर्थहीन हुने गर्दछ । मृत्यु शय्यामा पुग्दा पनि उचित व्यक्ति सामुन्ने पाएर बहसमा उत्रिने बिपी, जेल होस् वा बाहिर, स्वतन्त्र रूपमा स्वदेश बस्दा होस् वा भारतमा निर्वासित भएको अवस्था जहाँ जुन अवस्थामा रह्यो बिपी त्यहीँ तत्क्षण आफ्नो कार्यस्थल र राजनीतिक मञ्च बनाउन सक्थे । के आजका कांग्रेसका शीर्ष नेतृत्वमा यो गुणा छ त ? बिपीको अनुयायी भन्नेहरू, बिपी जस्तै नभएको बिपीको एक चौथाई गुण अनुसरण गरेका छन् ? छैन । बिपी नेपालका राजनीतिज्ञहरू मध्ये अत्यन्त अध्ययनशील नेता हुन् । जेलमा होस् वा बाहिर पुस्तकबिना बिपीको कुनै दिन बित्यो होला भनेर कल्पना गर्न सकिँदैन । आजको दिनमा राजनीतिमा लागेकाहरू कतिको अध्ययन गर्छ, त्यो सबै हामीलाई थाहा छ ।
पुस्तकहरू बिपी कै जस्तो सबैको प्रिय वस्तु हुनु पर्ने हो । पुस्तक बिना कसैको जीवनको अर्थ देखिँदैन । पुस्तकमाथि सबैको बेजोड लगाव हुनपर्छ । बिपी भन्छन्, “नयाँ पुस्तक तरुणी हुन् । तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले सुमसुम्याउनु पर्छ, यताउति उल्टाइ–पल्टाई हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथि देखि तलसम्म हाल्नुपर्छ, यसो सुँघ्नुपर्छ ।” (–जेल जर्नल, पृ. २७–२८)
“आस्थाको बन्दी” भएर आठ वर्ष जेल जीवन बिताएको, नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला जीवन सामान्य थिएन । बिपीलाई राजनीतिमा उदारवादी, अर्थनीतिमा समाजवादी र संस्कृतिमा धर्मनिरपेक्ष (सेक्युलर) मान्न सकिन्छ । एउटा सुखद कुरा हो, निधनपछि बिपी र कांग्रेसका बारेमा कुनै भ्रम बाँकी रहेन, बरु सत्य र यथार्थ अरू उजागर भयो । बिपीको विरोधीहरू पनि पराजित भए । हो बिपीले चाहेजस्तो कांग्रेस रहन सकेको छैन । बिपी चाहन्थे, कांग्रेसले केवल सत्ताको राजनीति मात्रै नगरोस् । तर, सत्ताको खेलमा कांग्रेसले बिपीलाई त बिर्सियो नै लोकतन्त्रको मूल्य, मान्यता र प्रक्रियामा पनि विवेक पु¥याउन सकेन । बिपीपछि कांग्रेस पार्टी, संगठन होइन, स्वार्थपरक समूह भएको छ । जहाँ कुनै विचार र विवेक छैन ।