काठमाडौँ । पछिल्लो समय कलाकार आफै फिल्म निर्माणमा लागेको देख्न सकिन्छ । यस्तोमा अभिनेता सलोन बस्नेतले पनि फिल्म निर्माण गर्ने भएका छन् ।
गत वर्ष ‘जय हो’ बनाएका उनी यसै वर्ष फिल्म ‘युनिभर्सिटी अफ गुन्डाज्’ निर्माणको तयारीमा छन् । जसलाई लिएर उनी उत्साहित छन् । उसो त निर्देशकबिना उनले आफ्नो जन्मदिनमा फिल्मको घोषणा गरेका थिए ।
सलोन बस्नेत र सलिनमान बानियाँको मुख्य भूमिका रहने फिल्म घोषणा गरेदेखि चर्चामा छ । तर, ‘युनिभर्सिटी अफ गुन्डाज्’ निर्माण गर्नुभन्दा अगाडि सलोनले ‘रंगी’ फिल्म बनाउने खबर बाहिरिएको छ ।
आइतबार थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको यस फिल्ममा सलोन आफै मुख्य भूमिकामा देखिने अनुमान गरिएको छ । आइतबार सार्वजनिक गरिएको थिम पोस्टरमा सूर्यास्त हुँदै गरेको पृष्ठभूमिमा साइकलमा बसेकी एक बालिकासँग खेल्दै गरेका पुरुषलाई चित्रित गरिएको छ ।
आगामी असोज ११ गतेदेखि सुटिङमा जाने भनिएको यस फिल्मको अहिलेसम्म कलाकार टुगो लाग्न सकेको छैन । सुरेश न्यौपाने यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । सक्षम सुवेदी निर्माता रहेको ‘रंगी’मा प्रस्तुतकर्ता सलोन बस्नेत हुन् भने सौरभ लामाले फिल्म छायांकन गर्ने छन् ।