इटलीको एउटा सहर जहाँ क्रिकेट खेल्न प्रतिबन्ध छ-Sutra News

इटलीको एउटा सहर जहाँ क्रिकेट खेल्न प्रतिबन्ध छ

सोमबार, २४ भाद्र २०८१

सोमबार, २४ भाद्र २०८१

काठमाडाैं । इटलीको एडियाट्रिक तटमा चर्को घाम लागेका बेला कङ्क्रिटको सानो ठाउँमा बाङ्ग्लादेशीहरूको एउटा समूह क्रिकेट अभ्यास गरिरहेको छ।



उनीहरू मोन्फाल्कोने सहरको बाहिरी इलाकास्थित ट्रिएस्ट विमानस्थलनजिकै खेलिरहेका छन् किनभने सहरभित्र उक्त खेल खेल्न त्यहाँका मेयरले प्रतिबन्ध लगाइदिएका छन्।

सहरभित्र खेलेको पाइए १०० यूरोसम्म जरिबाना तिर्नुपर्ने उनीहरूले बताए।

“हामीले मोन्फाल्कोने सहरभित्र खेलको भए प्रहरी आएर हामीलाई रोकिसक्थ्यो,” टोलीका कप्तान मिया बापीले भने।

सहरको एक स्थानीय पार्कमा क्रिकेट खेलिरहेका बङ्गाली किशोरहरूले बेहोरेको हालैको घटनाबारे उनले सुनाए। सुरक्षा क्यामराहरूले तिनले खेलेको दृश्य खिचेको पत्तो नपाएका ती किशोरहरूको खेललाई प्रहरी आएर भाँडिदिएको अनि जरिबाना तिराएको उनले बताए।

“क्रिकेट इटलीको निम्ति नभएको उनीहरूको भनाइ हुन्छ। तर सत्य के हो थाहा छ? यो सबै हामी विदेशी भएकाले गरिएको हो।”

क्रिकेटमाथिको प्रतिबन्धले वास्तवमा मोन्फाल्कोने सहरमा बढ्दो तनावलाई सङ्केत गर्छ।

सांस्कृतिक मौलिकता ‘खतरामा’

सो सहरमा जनसङ्ख्याको जातिगत वितरण इटलीकै निम्ति पनि अलि विशिष्ट खालको छ – झन्डै ३०,००० जनसङ्ख्यामध्ये एकतिहाइजति विदेशी छन्। तीमध्ये अधिकांश बाङ्ग्लादेशी मुस्लिम छन् जो ठूल्ठूला ‘क्रूज’ पानीजहाज निर्माण गर्नका निम्ति सन् १९९० को दशकको अन्त्यतिर त्यहाँ आएका थिए।

सहरकी अतिदक्षिणपन्थी मेयर अन्ना मारिया सिसिन्टका अनुसार यसले गर्दा मोन्फाल्कोनेको सांस्कृतिक मौलिकता खतरामा परेको छ। आप्रवासीविरोधी भावना फैलिएका कारण उनी निर्वाचित भइन् र अब उनले आफ्नो सहर तथा इसाई मूल्यमान्यता ‘रक्षा’गर्ने अभियान चलाएकी छन्।

“हाम्रो इतिहास मेटिँदै छ,” उनले भनिन्। “कसैलाई वास्ता नभएको जस्तो भएको छ। सबैथोक बिग्रँदो छ।”

मोन्फाल्कोनेमा पश्चिमा पोसाक लगाएका इटलियनहरू सलवार, कमिज र हिजाब लगाएका बाङ्ग्लादेशीहरू सँगसँगै बस्छन्। त्यहाँ बाङ्ग्लादेशी रेस्टुराँहरू अनि हलाल पसलहरू छन्। साइकल हिँड्ने मार्गको सञ्जाल छ जसलाई मुख्यत: उक्त दक्षिण एशियाली समुदायका मानिसहरूले प्रयोग गर्छन्।

आफ्नो दुई कार्यकालमा मेयर सिसिन्टले नगरका चोकहरूमा बाङ्ग्लादेशीहरूले बस्न प्रयोग गर्दै आएका बेन्च हटाइदिइन् अनि समुद्री तटमा मुस्लिम महिलाहरूको पोसाकको पनि आलोचना गरिन्।

“यहाँ मुस्लिम अतिवादको हावा चलिरहेको छ – त्यस्तो संस्कृति जहाँ महिलालाई खराब व्यवहार गरिन्छ अनि पुरुषद्वारा दमन गरिन्छ।”

मुस्लिमहरूको विषयमा गरेका टिप्पणीका कारण उनले ज्यान मार्ने धम्की खेप्नुपरेको छ। त्यसैले उनलाई अचेल चौबिसै घण्टा प्रहरी सुरक्षामा राखिएको छ।

मिया बापी र उनका क्रिकेटर साथीहरू युरोपको सबभन्दा ठूलो अनि विश्वकै ठूलोमध्येको एक शिपयार्ड (पानीजहाज निर्माणस्थल) फिन्कान्टेरीमा पानीजहाज निर्माणका लागि इटली आइपुगेका हुन्।

मेयरले उक्त कम्पनीले एकदमै थोरै ज्याला दिने गरेको आरोप लगाउँदै त्यतिमा कुनै इटलियनले काम नगर्ने हुनाले बाहिरबाट मानिस ल्याउनुपरेको बताइन्।

तर सो शिपयार्डका निर्देशक क्रिस्टियानो बजाराका अनुसार कम्पनीले दिने गरेको तलब इटलीको नियमबमोजिम नै छ। “हामीले दक्ष कामदार पाउन सकेनौँ। युरोपमा कुनै शिपयार्डमा काम गर्न इच्छुक युवा भेट्टाउन निकै मुस्किल छ,” उनले भने।

संसारमै इटलीको जन्मदर निकै कममा पर्छ। गत वर्ष इटलीमा प्रतिमहिला औसत १.२ शिशुका दरले केवल ३,७९,००० शिशु जन्मिए।

त्यहाँ श्रमिकको अभाव पनि छ।

अनुसन्धानकर्ताहरूको अनुमानअनुसार खुम्चँदो श्रमशक्तिका माझ इटलीलाई सन् २०५० सम्ममा प्रतिवर्ष करिब २,८०,००० विदेशी कामदारको आवश्यक पर्छ।

इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी अतिदक्षिणपन्थी दल ‘ब्रदर्स अफ इटली’ को नेतृत्व गर्छिन्। आप्रवासन कटौती गर्न भने पनि उनले ईयूबाहिरका आप्रवासी कामदारहरूको कोटा बढाएकी छन्।

तर मेयर अन्ना मारिया सिसिन्ट बाङ्ग्लादेशी मुस्लिमहरूको जीवनशैली मौलिक इटलियनहरूको जीवनशैलीसँग मेल नखाने ठान्छिन्।

मोन्फाल्कोनेमा मेयरले सहरका दुईवटा इस्लामिक (सेन्टर) केन्द्रहरूमा सामूहिक प्रार्थना गर्न प्रतिबन्ध लगाइदिएपछि त्यहाँ तनाव झनै चर्कियो।

“सहरका मानिसहरूले मलाई निकै स्तब्ध बनाउने खालका फोटो अनि भिडिओहरू पठाए जसमा ठूलो सङ्ख्यामा मानिसहरूले दुईवटा इस्लामिक केन्द्रमा प्रार्थना गरिरहेको देखिन्छ : एकै ठाउँमा करिब १,९०० जनासम्म,” मेयरले भनिन्। (थप रिपोर्टिङ बब हवार्डबाट ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट