काठमाडौँ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेसा गोबर्धनलाई सम्मान गरिएको छ । उनलाई सत्तारुढ दल नेपाली कांग्रेसले पाँच लाख नगदसहित सम्मान गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक कार्यक्रम आयोजना गरी पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा कांग्रेस सभापति देउवाले पलेसाले जितेको पदकले नेपालको सम्मान बढेको बताएका थिए । ‘उहाँले जित्नु भएको पदकले नेपालको इज्जत बढेको छ, भोलिका दिनमा नेपाली खेलाडी थप उत्साहित हुनेछ,’ उनले भने ।