काठमाडौं । भदौ ७ देखि प्रदर्शन हुने फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट भन्दा लामो ट्रेलरमा एसिड आक्रामणबाट प्रभावित बनेका यूवायूवती र उनीहरुको लागि मागिएको न्यायको कथा उठान गरेको छ ।
एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शन पनि देखाइएको छ । यी प्रदर्शनमा सहभागी भएर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहितका नेताले दोषीलाई कठोर दण्ड दिने प्रतिबद्धता जनाएको दृश्य पनि यसमा छ ।
अभिनेता रमित ढुंगानाको डेब्यु निर्देशनमा बनेको फिल्म सत्य घटनामा आधारित ३३ जना एसिड पीडितको संघर्षको कथा छ। ट्रेलर हेर्दा नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि फिल्मले सशक्त रुपमा उठाएको छ । साथै ट्रेलरको अन्तमा प्रधानमन्त्री केपी शर्मा ओली एसिड पीडितलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य पनि समावेश गरिएको छ। जहाँ प्रधानमन्त्री ओली भन्छन्- ‘तपाईंहरुले अवश्य पाउनुहुन्छ न्याय, म दिन्छु न्याय ।’
फिल्मको कथा तथा पटकथा शिवम अधिकारीले लेखेका हुन्। उनले पटकथा लेखनमा मात्र साढे २ वर्ष लगाएका थिए ।
फिल्ममा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह, आरजु लेखक, एलिसा गुरुङलगायत कलाकारको अभिनय छ। साथै एसिड पीडित आन्दोलनमा साथ दिने प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको पनि फिल्ममा विशेष भूमिका छ।
रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत तथा किरन दाहालको द्वन्द्व निर्देशन छ।