उच्च कारोबारसँगै एकल अंकको बृद्धि, नयाँ सातादेखि कता जाला नेप्से ?-Sutra News

उच्च कारोबारसँगै एकल अंकको बृद्धि, नयाँ सातादेखि कता जाला नेप्से ?

बिहिबार, २४ साउन २०८१

बिहिबार, २४ साउन २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेर बन्द भएको छ । बिहीबार ६.७० अंकले बढ्दै नेप्से २७६६.३८ को बिन्दुमा उक्लिएको छ ।



तिव्र उतारचढावपूर्ण देखिएको नेप्सेले कारोबार सुरु भएको २५ मिनेटमै २८ सयको बिन्दुलाई पार गरेको थियो । यद्यपि, नेप्से २८ सयको बिन्दुमाथि कायमै रहन सकेन ।

६३ अंकको तिव्र उतारचढावपछि नेप्से पुनः २७ सयकै बिन्दुमा फर्कियो ।

एकल अंकले बढेको भएपनि यस दिन उत्पादन तथा प्रशोधन समूहको सूचकमा ५.८७ प्रतिशतले बृद्धि भयो । लगानी समूहको सूचक १.३३ प्रतिशतले बढ्दा जलविद्युत समूहको ०.८७, सामूहिक लगानीको ०.४० र व्यापारको ०.४७ प्रतिशतले बढ्यो ।

अन्य समूहका सूचक भने घटे । यस दिन घटेका समूहमा सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक १.२७ प्रतिशतले घटेको छ ।
एकल अंकले बढेको भएपनि यस दिन धेरैजसो कम्पनीको मूल्य घट्यो । कारोबारमा आएका २४२ कम्पनीमध्ये १५९ कम्पनीको मूल्य घट्दा ७९ कम्पनीको मूल्य बढ्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

यद्यपि, बढेका कम्पनीमध्ये आधा दर्जन कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । जसमा कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रो, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट रहेका छन् ।

अन्तिम कारोबार दिन बिहीबार कारोबार रकममा पनि उत्साह देखिएको छ । अघिल्लो दिन १७ अर्ब ९५ करोडमा सीमित भएको कारोबार यस दिन २० अर्ब ७ करोड बराबरको भयो । जुन बुधबारको तुलनामा एक अर्ब १२ करोड बढी हो ।

मंगलबार करिब डेढ सय अंकको घटेको नेप्सेमा बुधबार पुनः उत्साह छाउने गरी बृद्धि भएको थियो । जसको प्रभाव बिहीबार बजार घट्ने अनुमान केहीले गरेका थिए । यद्यपि, उच्च कारोबारका साथ बजारले आपूर्ति सहजै स्वीकार गरेको छ ।

जसले बजारमा आउने उथलपुथललाई स्वभाविक मान्न पनि सुझाएको देखिन्छ । बिहीबार तिव्र उतारचढावपछि भएको एकल अंकको बृद्धिले आगामी बजार थप व्यवस्थित शैलीमा बढ्ने पनि सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट