काठमाडौं । संक्रमण कालीन न्यायसँग सम्बन्धीत विधेयक (टीआरसी) प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको हो ।
विधेयकमा सन्दर्भमा देखिएका विवादलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेको थियो । विवादित विषयमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो । बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रुपमा पारित भएको घोषणा गरेकी थिइन् ।
उनले समितिबाट पारित भएको विधेयकलाई संसदको अर्को बैठकमा पेश गर्ने गरी पत्राचार गर्ने बताइन् । यस्तै, बैठकमा कानून मन्त्री अजय कुमार चौरसियाले मानव अधिकारको उल्लंघनमा पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्नेलगायत सवालमा दलहरूबीचको सहमति महत्वपूर्ण रहेको बताए ।
यस्तै, समिति सदस्यहरूले टीआरसीसँग सम्बन्धित विधेयकमा सहमति जुट्नु निकै महत्वपूर्ण विषय भएकाले अब कार्यान्वयनमा ध्यान दिनु पर्ने धारणा राखे ।