काठमाडौं । श्रीलंकाले भारतसँगको जारी एक दिवसीय सिरिजको उपाधि हात पारेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २–० ले जितेको हो ।
यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा अल आउट हुँदै १३८ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५ रन बनाए । वाशिंटन सुन्दरले ३० रन बनाउँदा विराट कोहलीले २० रन बनाए । भारतीय टोलीका अरू ब्याट्याम्यानले रन बनाउन सकेनन् ।
भारतीय टोलीको ब्याटिङ ध्वस्त बनाउन श्रीलंकाका बलर दुनिथ वेल्लालागेले पाँच विकेट लिए । महिश तिक्क्षना र जेफ्री वान्दरसेले समान दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा सात विकेट गुमाउँदै २४८ रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फेर्नान्डोले सर्बाधिक ९६ रन बनाए । कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए ।
खेलमा भारतीय बलर रियाँ परागले तीन विकेट लिएका थिए । यो जितपछि श्रीलंकाले तीन खेलको सिरिज २–० ले जितेको छ । सिरिजको पहिलो खेल टाई भएको थियो ।