शेख हसिना : अधिनायकवादी सोचले सकिएकी ‘आइरन लेडी’-Sutra News

शेख हसिना : अधिनायकवादी सोचले सकिएकी ‘आइरन लेडी’

बिहिबार, २४ साउन २०८१

बिहिबार, २४ साउन २०८१

१५ वर्षदेखि बङ्गलादेशको सत्ता चलाइरहेकी शेख हसिना सत्ताबाट मात्रै बाहिरिइन् देशै छाडेर भाग्ने अवस्थामा पुगिन् । सरकार विरोधी आन्दोलनका कारण जिउ नै जोखिममा परेपछि अगष्ट ५ मा उनी देश छाडेर भागेकी थिइन् । बङ्गलादेश छाडेर भागेकी हसिना अहिले भारत सरकारको शरणमा छिन् । उनी अमेरिका, बेलायत वा अन्य कुनै देश जाने प्रर्यत्नमा छिन् ।



हसिना देश छाडेर बाहिरिएसँगै बङ्गलादेशमा अहिले हर्षोल्लासको अवस्था छ । जहाँ अन्तरिम नयाँ सरकार गठनको तयारी चल्दैछ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई नयाँ सरकारको नेतृत्व दिने तयारी चल्दै छ । सेना, विपक्षी दलहरू र विद्यार्थी नेताका बीचमा करिब अबको सम्भावित बाटोबारे सहमति भएको अवस्था देखिन्छ ।

सन् १९९६ को विद्रोहसँगै सत्ता राजनीतिमा भित्रिएकी हसिनाले १९९६ देखि २००१ सम्म पहिलो पटक सत्ताको नेतृत्व गरेकी थिइन् । उनी २००९ देखि भने निरन्तर सत्ताको नेतृत्वमा थिइन् । योबिचमा पटक–पटक आम निर्वाचन पनि भए । यद्यपि, हसिनाले एक्लै चुनाव जितिरहिन् ।

दक्षिण एसियाली देशहरूमा समृद्ध मानिने बङ्गलादेशको निर्माणमा हसिनाको मुख्य हात छ । उनकै नेतृत्वमा बङ्गलादेशले समृद्धिको चित्र कोरेको छ । तर, हसिनाले समृद्धिसँगै लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्न सकिनन् । विरोधीलाई निषेध गर्ने र ‘आतंककारी’को ट्याग लगाएर गोली हान्न तम्सिँदा हसिना जनताबाट बहिस्कृत मात्रै भइनन् दुःखद शैलीमा बहिर्गमन हुन बाध्य भइन् ।

विरोधीलाई निषेध गर्ने र ‘आतंककारी’को ट्याग लगाएर गोली हान्न तम्सिँदा हसिना जनताबाट बहिस्कृत मात्रै भइनन् दुःखद शैलीमा बहिर्गमन हुन बाध्य भइन् ।

अहिलेको घटना ‘सरकारी सेवामा आरक्षण’को विषयबाट उदाएको हो । यसै महिनाको सुरुमा बङ्गलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोध गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूले उक्त कोटा प्रणाली खारेजीको माग गरेका थिए । बङ्गलादेशमा सरकारी सेवामा महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका साथै, स्वतन्त्र बंगलादेश निर्माणको लागि सन् १९७१मा युद्धमा होमिइ मृत्युवरण गरेका सन्तानलाई कोटा दिइने गरिएको थियो । जसले ठुलो असमानताको अवस्था सिर्जना गराएको थियो । जुन आन्दोलन अहिले होइन, केही वर्षदेखि नै चल्दै आएको थियो ।

सन् २०१८ मा हसिना सरकारले नै विद्यार्थी आन्दोलनपछि यो व्यवस्था खारेज गरेको थियो तर, पछि अदालतले उल्टाइदियो । अदालतको पछिल्लो फैसलापछि पुनः विद्यार्थीहरू आन्दोलित भए । यद्यपि, आन्दोलन त्यति बेला उत्कर्षमा पुग्यो जति बेला हसिनाले आन्दोलनकारी विद्यार्थीलाई ‘आतंककारी’को ट्याग भिराइन् ।

हसिनाको ‘अपाच्य’ ट्यागसँगै आन्दोलनले आरक्षण खारेजी मात्रै मागेन, उनकै बहिर्गमनको बाटो माग्यो । यद्यपि, यसमा विद्यार्थी मात्रै होइन, हसिनाले दबाएर राखेको राजनीतिक शक्ति र सेना पनि अगाडि आएको देखिन्छ । आन्दोलनमा सेनाले भित्रिरुपमा सहयोग गरेको थियो भने विद्यार्थी र अन्य राजनीतिक शक्ति अग्रमोर्चामा थिए । जसको प्रतिफल हसिना सधैँका लागि सत्ताबाट च्युत हुँदै देशै छाड्ने अवस्थामा पुगिन् ।

हसिनाको यो हविगत उनीभित्र पलाएको अतिवादी र अधिनायकवादी प्रवृत्तिको कारण पनि थियो । उनमा यतिसम्म अधिनायकवादी सोच विकास भएको थियो कि उनको अगाडि विरोधी वा विपक्षी खडा हुने हैसियतमा हुँदैनथे । उनमा विरोधी वा विपक्षीलाई सिध्याउनु पर्छ भन्ने सोच चरम स्तरमा विकास भएको देखिन्छ ।

सन् २०११ मा चुनावी व्यवस्था आफू अनुकूल बनाउन उनले संविधान नै संशोधन गरेकी थिइन् । त्यसयता भएका कुनै पनि चुनाव निष्पक्ष खालका थिएनन् । गत जनवरीमा भएको चुनावमा जम्मा २८ प्रतिशत मत खसेको थियो । जसमा दुई तिहाइ सिट उनकै पार्टीले जितेको थियो । केही जितेका विपक्षी पनि उनले नै खडा गरेका ‘डमी’ पात्र थिए । कारण, उनले गरेको चुनाव विपक्षीतर्फका सबै २८ पाटीहरुले सामूहिकरुपमा बहिस्कार गरेका थिए । यद्यपि, यो पटकको बहिस्कार भने थिएन ।

हसिनामा यतिसम्म अधिनायकवादी सोच विकास भएको थियो कि उनको अगाडि विरोधी वा विपक्षी खडा हुने हैसियतमा हुँदैनथे । उनमा विरोधी वा विपक्षीलाई सिध्याउनु पर्छ भन्ने सोच चरम स्तरमा विकास भएको देखिन्छ ।

चुनावसम्मुखमा अक्टोबरमा विपक्षी दलहरु निष्पक्षको चुनावको माग गर्दै सडकमा ओर्लिएका थिए । तर, हसिना सरकारले शान्तिपूर्ण आन्दोलनमाथि चरम दमन गरेको थियो । उक्त आन्दोलनमा १६ जनाको मृत्यु भएको थियो भने ५५ सयभन्दा बढी घाइते भएका थिए । यद्यपि, विरोधीलाई पूर्ण निषेध गर्ने उनको शैली कायमै थियो । उनले उच्च तहका नेताहरु सबैलाई पक्राउ गरेर थुनेकी थिइन् । चुनावको समय १० हजारभन्दा बढी नेता तथा कार्यकर्ता जेलमा थिए ।

सत्ताको उन्मादमा उनले विपक्षमा उभिएकै कारण नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई मात्रै होइन, थुप्रै विरोधीलाई देशबाट खेदेकी थिइन् । बीएनपी नेतृ तथा पूर्व प्रधानमन्त्री खालिदा जिया उनको प्रताडनमा परेकी अर्की शीर्ष नेतृ हुन् । चुनावको समयदेखि थुनिएकी जिया हसिनाको बर्हिगमनसँगै जेलमुक्त भएकी थिइन् ।

शेख मुजीबर रहमान उनको पिता मात्रै थिएनन्, बङ्गलादेशका राष्ट्र निर्माता पनि थिए । हसिनाविरुद्धको आन्दोलनले रहमानप्रतिको सम्मानलाई पनि सिध्याएको छ । आज हसिनाकै कारण ‘जमाइते स्लाम’ जस्ता पृथकतावादी तथा अतिवादी शक्ति बलिया हुने अवस्थामा पुगेका छन् । आज हसिना देशबाट भाग्दै गर्दा बङ्गलादेशमा साम्प्रदायिकता मच्चिने खतरा पनि पैदा भएको छ । अल्पसङ्ख्यक समुदायमाथि बर्बरता मच्चाइएको घटनाहरू सार्वजनिक भइरहेका छन् । हसिनाले आफ्नो तागत अपराजयी ठान्दा आज बङ्गलादेशकै भविष्य के हुने अन्योलतामा छ ।

नेपालको सत्तामा पनि हसिना चरित्रका थुप्रै पात्र छन् । उनीहरू भ्रष्ट मात्रै छैनन् प्रवृत्तिगतरूपमा जनता विरोधी पनि छन् । उनीहरूले लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्वीकार गर्दैनन् । यस्तोमा उनीहरू समय नै नसच्चिए मुलुकले अर्को दुर्गति भोग्नुपर्नेसमेत हुनसक्छ ।

हसिनाको कारण बङ्गलादेश अप्ठ्यारोमा फस्दै गर्दा नेपालसम्म त्यसको बाछिटा नआउला भन्न सकिन्न । एकातिर बंगलादेशभित्र संकट बढ्दा त्यहाँका नागरिक विस्थापित भएर २७ किलोमिटर नजिकको नेपाल आउने जोखिम छ भने अर्कोतिर त्यो आन्दोलनको प्रभाव नेपालमा पनि अतिवादी घटनाहरू हुन सक्ने देखिन्छ ।

नेपालको सत्तामा पनि हसिना चरित्रका थुप्रै पात्र छन् । उनीहरू भ्रष्ट मात्रै छैनन् प्रवृत्तिगतरूपमा जनता विरोधी पनि छन् । उनीहरूले लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्वीकार गर्दैनन् । यस्तोमा उनीहरू समय नै नसच्चिए मुलुकले अर्को दुर्गति भोग्नुपर्नेसमेत हुनसक्छ । उनीहरूले हसिनाको हालत त भोग्लान् सँगै देशलाई बङ्गलादेश पनि बनाउन सक्छन् । जसप्रति सबैले समयमै सोच्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट