काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । क्यानडा भ्रमण जानुअघि आइतबार रोहित पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ ।
टोलीले एक हप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्ने छ । त्यसपछि भारत जाने तयारी छ । प्रशिक्षणमा बोलाइएका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ग्लोबल टी २० खेल्न क्यानडामा छन् ।
ग्लोबल टी २० क्यानडा ११ अगष्टमा सकिने छ । त्यसपछि दीपेन्द्र र रोहित टी १० लिग खेल्ने वेष्ट इण्डिज जाने छन् । यसबीच तीव्र गतिका बलर गुल्शन झा भारतमा छन् भने सोमपाल कामी र करण केसी भारतमा अभ्यास सकेर स्वदेश फिर्ता भएका छन् ।
टी २० विश्वकपपछि अमेरिकामा रहेका मुख्य प्रशिक्षक मोन्टी देशाई नेपाल आएका छैनन् । उनी सीधै भारत आउने छन् । नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा आईसीसी विश्वकप लिग २ र त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने छ ।
अघिल्लो महिना सम्पन्न टी २० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जिसी र अभिनाश बोहरा बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । नेपाली टोलीले कुन टोलीसँग कहिले खेल्ने भन्ने यकिन हुन सकेको छैन् ।