काठमाडौं । नेपालले काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको हो ।
नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो । यो जितपछि नेपालले २ अंक हासिल गरेको छ । भारतले एक अंक हासिल गरेको छ । यो जितपछि नेपालको २ खेलमा ५ अंक भएको छ । भारतको ३ खेलमा ७ अंक भएको छ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५ः१५ बजेदेखि इरानसँग खेल्ने छ ।
त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५ः१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।