दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली, यी दलबाट पाउँदैनन् मत-Sutra News

दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली, यी दलबाट पाउँदैनन् मत

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने दिन आइतबार प्रधानमन्त्री ओलीले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारीसमेत गरेका छन् ।



संसदमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिँदा दुई तिहाई पुर्याउने रहेको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कूल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

अहिले कांग्रेस र एमालेबाहेक सात सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ । यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ । दुई तिहाई मत पुर्याउन ओलीलाई थप सात सिट आवश्यक पर्दछ ।

अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ । उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दुरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन् । तर, उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेस प्रदेशको सरकार हुने देखिएको छ ।

मधेसमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस–एमालेले समर्थन गरिरहेका छन् । तर, मधेस सरकारको नेतृत्वसँग खास गरी धेरै सिट भएको कांग्रेस खुशी देखिएको छैन । यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन् । जसपा नेपालका पाँच सांसद रहेका छन् ।

त्यस्तै, जनमत पार्टीले पनि मधेसमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरी छलफल अगाडि बढाएको छ । जनमतको प्रतिनिधिसभामा ६ सांसद रहेका छन् ।

त्यस्तै, चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ । तर, नाउपाको विवादले यसबारे स्पष्ट निर्णय आउन सकेको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाईभन्दा बढी १९२ मत हुन जान्छ ।

यीबाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा. अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् । दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ ।

यो बाहेक १४ सिट रहेको राप्रपाले पनि ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा छलफलमा रहेको छ । राप्रपाले अहिलेसम्म ओली नेतृत्वको सरकारलाई नकारात्मक टिप्पणी गरेको  छैन ।

कांग्रेस–एमालेसँग सहमति भएपछि शुरुमा स्वागत गरेको राप्रपाले पनि विश्वासको मत दिएमा ओलीले संसदमा दुई सयभन्दा बढी मत प्राप्त गर्ने सम्भावना रहेको छ ।

संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादी सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निश्चित प्रायः रहेको छ । तीन दलको प्रतिनिधिसभामा ६३ मत रहेको छ ।

त्यसैगरी, एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ । यसरी हेर्दा ओलीले लिने विश्वासको मतको विपक्षमा ६६ मत पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट