नीर शाह भन्छन् – हेलचेक्र्याइँले गर्दा नेपाली फिल्म पछाडि परेको छ-Sutra News

नीर शाह भन्छन् – हेलचेक्र्याइँले गर्दा नेपाली फिल्म पछाडि परेको छ

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौँ ।  निर्देशक तथा अभिनेता नीर शाहले वर्तमान अवस्थामा नेपाली फिल्मलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिने बताए ।



बिहीबार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनको हेलचेक्र्याइँले गर्दा नेपाली फिल्म केही पछाडि परेको अनुभुति हुन थालेको छ । तथापि केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय फिल्मले आफ्नो अभियानलाई सही दिशा तिर तिब्रता दिन सफलता हाँसिल गर्दै गएको पनि छ ।’ नेपालमा एकदमै थोरै राम्रा फिल्म बने पनि नराम्रा फिल्मको तुलनामा राम्रा फिल्मकै प्रभाव बढी रहेको पनि शाहले स्पष्ट पारे ।

नेपाली फिल्म क्षेत्रको उत्थानका लागि नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव जस्ता कार्यक्रमको महत्वूर्ण योगदान रहने उनले जिकिर गरे । ‘निफले सातौँ संस्करणसम्म आफ्नो यात्रा तय गरिसक्दा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउन सफल भइसकेको छ ।’

निफको निरन्तरताले नेपाली फिल्म क्षेत्रमा गरेको योगदानका बारेमा बताउँदै उनले भने,‘नेपाली चलचित्रकर्मले प्राप्त गरेको दुरगामी अर्थ राख्ने संस्था बनेको छ । अन्यथा छ दर्जन देशहरुबाट एकसेएक राम्रा फिल्महरु, फिल्म क्षेत्रलाई माथि उठाउन विभिन्न कालखण्डमा योगदान पु¥याउने अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागिता यहाँ हुँदैनथियो ।’

साथै, विदेशी फिल्मबाट प्रभावित फिल्म बनाउनुभन्दा यहीँका दन्त्यकथामा आधारित रहेर विश्व मस्तिष्कमा बस्ने गरी पाँच मिनेटको छोटो फिल्म बनाउनु सिने क्षेत्र र देशको लागि फाइदाजनक रहेको बताए ।

‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित सुरु फेस्टिभल पाँच दिनसम्म काठमाडौंस्थित क्यूएफएक्सका विभिन्न हलमा आयोजना हुनेछ । महोत्सवको क्रममा विभिन्न छलफल सत्र पनि आयोजना गरिएका छन् । यस वर्षको संस्करणमा ४० देशका ८८ लामा, छोटा फिल्म र वृत्तचित्र देखाइनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट