विराजको ‘१२ गाउँ’को खलनायक ‘साहो’ भिलेन कनिज-Sutra News

विराजको ‘१२ गाउँ’को खलनायक ‘साहो’ भिलेन कनिज

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘१२ गाउँ’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गइरहेको छ ।



अभिनेता विराज भट्टले निर्देशन गर्न लागेको आफ्नो महत्काक्षी होम प्रोडक्सन फिल्म ‘१२ गाउँ’का लागि खलनायक फाइनल गरेका छन् । विराजले खलनायकमा कनिज कोइरालाई अनुबन्धित गराएका हुन् ।

‘इन्टरनेशनल म्यानहन्ट नेपाल–२००९’सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडल समेत रहेका कनिजले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको तेलुगु फिल्म ‘गोडाचरी’मा खलनायकको भूमिकामा काम गरिसकेका छन् ।

नेपाली फिल्मका लागि नयाँ भएपनि उनले यसअघि अभिनेता विराजसँग भोजपुरी फिल्म ‘वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन् । कनिजको ‘१२ गाउँ’ दोस्रो नेपाली फिल्म हो । यसअघि उनले फिल्म ‘आँधी तुफान २’मा काम गरेका थिए ।

भोजपुरी फिल्ममा छुट्टै पहिचान बनाइसकेका यस फिल्ममा विराज स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने आफ्नो छोरा समीर भट्टलाई अभिनेताको रुपमा डेब्यू गराउँदैछन् । फिल्मको मुख्य अभिनेत्रीमा सन् २०२२ की मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का देखिँदैछिन् भने मुख्य खलपात्रका रुपमा कनिज देखिने भएका छन् । न्यान्सी खड्कालाई यसै साता यो फिल्मको नायिकामा अनुबन्धन गरिएको थियो ।

फिल्मको चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ। हाल प्रि-प्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ ठूलो बजेटमा तयार हुनेछ । यो फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ ।

सन् २०२४ मा रिलिज हुने फिल्ममा विराजले नेपाली फिल्म इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । उनले यसलाईअन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् । नेपाली फिल्ममा एक्सन भूमिकाहरुबाटै सुपरस्टार बनेका विराज पछिल्लोसमय भोजपुरी फिल्ममा व्यस्त छन् । उनी भोजपुरी फिल्मका ‘ए’ लिस्टर स्टार हुन् ।

‘१२ गाउँ’ फिल्म विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ । विराजले २०७६ सालमा प्रदर्शन भएको एक्सन फिल्म ‘साङ्लो’बाट निर्देशनमा डेब्यू र अभिनयमा कमब्याक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट