अनिल-भीमको शतकीय पारीमा क्यानडामाथि नेपालको ‘क्लिन स्वीप’-Sutra News

अनिल-भीमको शतकीय पारीमा क्यानडामाथि नेपालको ‘क्लिन स्वीप’

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ‍‍‍‍‍नौ विकेटले विजयी भएको छ । योसँगै यसअघिका दुई खेल जितेको नेपालले क्यानडामाथि सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेपालका ओपनर अनिल शाह र भीम सार्की दुवैले शतकीय पारी खेले ।

खेलमा ओपनर शाहले १२४ बल खेल्दै सर्वाधिक ११२ रन बनाए । यस क्रममा उनले १२ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, तेस्रो विकेटमा ब्याटिङ गर्न गएका सार्कीले पनि शतकीय पारी खेले । उनले १२९ बल खेल्दै १०१ रन बनाए । उनले ११ चौका र एक छक्का प्रहार गरे ।

खेलमा अनिल र भीमले कीर्तिमानी साझेदारी बनाएका थिए । तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गरेका हुन् ।

अर्का ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भए । उनी डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रन जोड्दा आउट भएका हुन् । उनले तीन चौका प्रहार गरे ।

नेपालले ४४.३ ओभरमा क्यानडाले दिएको लक्ष्य पूरा गरेको हो । क्यानडाका लागि डोलन हेइयगरले मात्रै एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् ।

त्यस्तै, क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाउँदा कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामीले तीन विकेट लिए । यस्तै, कुशल मल्लले दुई विकेट लिँदा ललित राजवंशी र अकाश चन्दले समान एक–एक विकेट लिए ।

नेपालले क्यानडाविरुद्ध पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । आजको खेलमा पनि विजयी हुँदै नेपालले क्यानडासँगको सिरिज क्लिन स्वीप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट