

काठमाडाैं । सोमबार अपरान्हतिरबाट सामाजिक सञ्जालमा पोशाक नियमका नाममा एक जना सेवाग्राहीलाई पाइन्ट खोल्न बाध्य पारिएको भनेर एक जना युवाले पाइन्ट खोल्दै गरेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल छ । सार्वजनिक भएको भिडियोअनुसार जिल्ला अदालत ललितपुरको गेट अगाडि ट्राउजरमा रहेका एक युवक पाइन्ट मिलाउँदै गरेको प्रष्ट देखिन्छ ।
सार्वजनिक भएको भिडियोमा उनले पाइन्ट लगाउन लागेका हुन् वा फुकालेका हुन् त्यो सार्वजनिक भएको भिडियोमा प्रष्ट छैन भलै जिल्ला अदालतमा सेवाग्राहीलाई भित्र छिर्न पोसाक नियमका नाममा ग्रन्च पाइन्ट लगाएर अदालतमा छिर्न नदिइएको दाबी गरिएको छ ।
अधिवक्ता दिनेशराज सत्यालले ती सेवाग्राहीलाई ललितपुर जिल्ला अदालतको सुरक्षा जाँचमा खटिएका प्रहरीले पाइन्ट खोल्न बाध्य बनाएको आरोप लगाएपछि यो प्रकरणले अधिक चर्चा पाएको हो । जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले पनि फेसनका रूपमा ठाउँ-ठाउँमा च्यातिएका पाइन्टजस्ता भड्किलो पोसाक लगाएर अदालत प्रवेश गर्न नपाइने नियम बनाएको छ ।
अदालत आउने सेवाग्राहीले मर्यादित पोशाक लगाउनुपर्ने नियम रहेको भन्दै त्यही आधारमा अदालतमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियमविपरीतका पोशाकलाई अदालत प्रवेशमा रोक लगाउने गरेको स्वीकार गरेका छन् र सोमबारको उक्त घटना पनि अदालतको त्यही नियमकै कारण घटेको अधिवक्ता सत्यालको आरोप छ ।
जिल्ला अदालत ललितपुरमा प्रतिउत्तर फिराउने म्याद सकिनै लागेको र अदालत जान जरुरी रहेको बताउँदा बताउँदै पनि प्रहरीले आफूहरू आदेश पालक भएको भन्दै ती युवालाई प्रवेश नै नदिएको अधिवक्ता सत्यालको दाबी छ । त्यसपछि आफूले अदालतका स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईलाई गुहार्न पुग्दा उनले झन आफ्नो समेत अपमान गरेको उनको आरोप छ । उनले सोमबारको घटनालाई सामाजिक सञ्जाल फेसबुकमा देखेका छन् ।
‘मेरो तर्फबाट दुई हात जोडेर नमस्कार गरेँ, म एउटा अनुरोध गर्न आएको सर, मेरो पक्ष प्रतिउत्तर फिराउन धरानदेखि काठमाडाैं आउनुभएको छ। प्रतिउत्तर फिराउने समय पनि लगभग अन्तिम भइसकेको छ। सुरक्षाकर्मीले भित्रको निर्देशन नभई भित्र पठाउन मिल्दैन भन्नुभएको छ। सर बाटो फुटाइदिनु पर्यो, बरु तपाईं दोस्रोपटक यस्तो पोसाकमा अदालत प्रवेश गर्नेछैन भन्ने कागज गराउनुहोस्।’
यसपछि स्रेस्तेदार भट्टराईले कपडा परिवर्तन गरेर आउन सल्लाह दिएको दाबी उनले गरेका छन्। ‘मैले भने श्रीमान् घर धरान हो, घर गएर अर्को कपडा लगाएर आउन त सम्भव नै छैन’, अधिवक्ता सत्यालले लेखेका छन्, ‘तपाईं नेपाली पोसाक यति राम्रो लगाएर आउनुभएको छ। उहाँले चैँ मर्यादित पोसाक लगाउनु पर्दैन? कपडा छैन भने के गर्ने मैले प्रति प्रश्न गरेँ– एकजोर मात्र लुगामा धरानदेखि काठमाडाैं कोही आउँदैन।’
यो टिप्पणीले अदालतका कर्मचारीहरू वकिललाई शब्दबाट विद्वान् भने पनि व्यवहारमा अपमान गर्छन् भन्ने यथार्थताको बोध भएको उनले उल्लेख गरेका छन्। ‘अन्ततः मेरो अनुरोधको केही काम लागेन, जसरी बगरेको अगाडि कुनै पशुको रोदन’, अधिवक्ता सत्यालले लेखेका छन्, ‘मैले सेवाग्राहीलाई सोधेँ– अर्को पाइन्ट किन्न सकिन्छ अहिले? अहिले त किन्न सकिँदैन– सेवाग्राहीको उत्तर थियो। म किंकर्तव्यविमुख थिएँ। भित्र ट्राउजर छ प्रहरी कर्मचारीको प्रश्न थियो। हजुर भित्र ट्राउजर छ पाइन्ट खोल्नुहोस्, अनि ट्राउजर लगाएर भित्र जानुहोस्। हे भगवान् अन्तिममा त्यही भयो। भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोसाक भएन। के यो सही हो?’
यस विषयमा उनले नेपाल बार एसोसियसन केन्द्रीय कार्यालय, उच्च अदालत बार एसोसियसन पाटन, जिल्ला अदालत बार एसोसियसन, काठमाडौँ, ललितपुर, भक्तपुर। सर्वोच्च अदालत प्रशासन, उच्च अदालत प्रशासन र जिल्ला अदालत प्रशासनको ध्यानाकर्षण पनि गराएका छन्। यस क्रममा उनले जिल्ला अदालत ललितपुरका स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईलाई कारबाही गर्न मागसमेत गरेका छन्। तर स्रेस्तेदार भट्टराईले भने घटनालाई अतिरञ्जित गरिएको दाबी गरेका छन्।