बम्जनले किन्दै थिए पाँच करोडको ल्यान्ड क्रुजर !-Sutra News

बम्जनले किन्दै थिए पाँच करोडको ल्यान्ड क्रुजर !

बुधबार, २५ पौस २०८०

बुधबार, २५ पौस २०८०

काठमाडौं । नेपाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेका तपस्वी भनिने रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले सार्वजनिक गरेको हो ।



प्रहरीले उनलाई मंगलबार काठमाडौंको हात्तिगौंडास्थित एक घरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका बम्जनबाट १७ देशका मुद्रा भेटिएको प्रहरीले जनाएको छ । जसको समग्र मूल्य गर्दा तीन करोड तीन लाख ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

उक्त रकम उनले गाडी किन्नको लागि तयार गरेको बुझिएको छ । सीआईबीले बताएअनुसार पाँच करोड मूल्यको गाडी किन्नको लागि कम्पनीलाई बम्जनले तीन करोड रुपैयाँ एडभान्स बुझाइसकेका थिए । बाँकी बुझाउनका निम्ति रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले किन्न लागेको पाँच करोडको गाडी ल्यान्ड क्रुजर जेडएक्स रहेको बुझिएको छ ।

बम्जनले हाल सेतो रंगको टोयोटा फर्चुनर गाडी प्रयोग गर्दै आएको पनि खुलेको प्रहरीले जनाएको छ । उनले क्रस फायर बाइक, ३०० सीसीको केटीएम डुक बाइक, यामाहाको स्कुटर र चार वटा मोटरसाइकल प्रयोग गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीको उनको साथबाट २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब पनि बरामद गरेको छ ।

बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । त्यसयता उनी सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।

तर, आश्रम बनाएर बसेकै बखत आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनीमाथि लागेको थियो ।
बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दायर भएको छ ।

अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक उनीविरूद्ध पाँच वर्ष अघि २०७५ पुस १२ गते जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी परेको पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट