शान्ति नोबेल पुरस्कार विजेता युनुसलाई ६ वर्ष जेल सजाय-Sutra News

शान्ति नोबेल पुरस्कार विजेता युनुसलाई ६ वर्ष जेल सजाय

सोमबार, १६ पौस २०८०

सोमबार, १६ पौस २०८०

काठमाडौं । बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई ६ वर्ष जेल सजाय तोकिएको छ ।



सोमबार श्रम कानूनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै ६ वर्षको जेल सजाय तोकिएको हो । उनका समर्थकले उक्त मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन् ।

८३ वर्षीय युनुसलाई आफ्नो अग्रणी माइक्रोफाइनान्स बैंकमार्फत लाखौँलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ । तर, लामो समयदेखि प्रधानमन्त्री रहेकी शेख हसिनासँग उनको दुश्मनी थियो ।

कुनै समय राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिएका र सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता युनिसविरुद्ध हसिनाले शृङ्खलाबद्ध रूपमा चर्को आलोचना गर्दै आएकी थिइन् ।

विपक्षीको बहिस्कारपछि हसिनाले अर्को साता हुने राष्ट्रिय निर्वाचनमा पाँचौं कार्यकालका लागि जित हासिल गर्ने निश्चितजस्तै भएको छ ।

अर्थशास्त्री युनुस र ग्रामीण टेलिकमका तीन सहकर्मीमाथि कम्पनीमा श्रमिक कल्याण कोष स्थापना गर्न असफल भएपछि श्रम कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । चारै जनाले आरोप अस्वीकार गरेका छन् ।

राजधानी ढाकास्थित श्रम अदालतले सोमबार दिउँसो फैसला सुनाएको हो ।

युनुसमाथि श्रम कानुन उल्लंघन र भ्रष्टाचारको आरोपमा एक सयभन्दा बढी अभियोग लगाइएको छ । युनुसले गत महिना भएको सुनुवाइपछि पत्रकारसँग कुरा गर्दै आफूले बंगलादेशमा स्थापना गरेका ५० भन्दा बढी सामाजिक व्यवसाय फर्ममध्ये कुनै पनि कम्पनीबाट कुनै लाभ नलिएको बताए ।

युनुसले भने, ‘ती मेरो व्यक्तिगत फाइदाका लागि थिएनन् ।’

उनका एक वकिल खाजा तनवीरले एएफपीसँग भने, ‘यो मुद्दा ’योग्यताहीन, झुटो र गलत मनसायबाट प्रेरित’ थियो ।’

नोबेल पुरस्कार विजेतामध्ये १०० भन्दा बढीले उनको सुरक्षा र स्वतन्त्रताका लागि आफूहरूलाई डर लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट