दुई वर्षमा बनाउन ठेक्का परेको सडक एक वर्षमै सकियो-Sutra News

दुई वर्षमा बनाउन ठेक्का परेको सडक एक वर्षमै सकियो

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

म्याग्दी । दुई वर्ष ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ ।



उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको काली गण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका ८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी-गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो ।

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको योजनाका इञ्जिनियर अच्युतविलास पन्तले बताए ।

‘करिडोर दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ,’ उनले भने, ‘यसअघि छोसेर-कोरला खण्डको १८ किलोमिटर ग्राभेल गर्ने काम पनि लक्ष्यअघि नै सकिएको थियो ।’

सडक कालोपत्र गर्न मंगलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट/पीएससहित १२ करोड ७५ लाख ९४ हजारमा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए ।

‘आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजीकरण हुँदा सहज भयो,’ उनले भने, ‘गत असारमै ८० प्रतिशत निर्माण सकिएको थियो ।’

सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र गरिएको हो । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट