एउटा पुलले बस्तीमा दिएको खुसी, समयभन्दा अघि निर्माण सकेपछि बोनसको दाबी-Sutra News

एउटा पुलले बस्तीमा दिएको खुसी, समयभन्दा अघि निर्माण सकेपछि बोनसको दाबी

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो ।



गाउँमै सामान्य स्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उनी हिजो आज बस्तीमा क्रमिक विकासले हर्षित मात्रै होइन, व्यापार बढाउन हौसिएका छन् ।

परशुराम नगरपालिकाभित्र भौगोलिक रुपले विकास साँदनी गाउँ आवातजावत गर्न विगतमा भोग्नु परेको बाध्यता हटेसँगै गाउँमा खुसीयाली छाएको छ ।

विं.सं. २०२८ मा बैतडीको पुर्चौडी क्षेत्रबाट साँदनी सरेका भट्टले विगतमा दिनभर हिँडेर कञ्चनपुरको महेन्द्रनगर, भारतको टनकपुर झरेर कुटानीपिसानी गरेर जीविका चलाएको विगत सुनाए ।

हालै परशुराम–६ चन्दनी र ७ को बीचमा पर्ने साँदनी खोलामा पक्की मोटेरेवल पुल बनेपछि गाउँको विकासको ढोका खुलेको भट्टको भनाइ छ ।

‘हामी त कुवाका भ्यागुतासँगै भएर चार दशक संघर्ष गर्दै दुर्गम बस्ती बस्यौँ,’ उनले भने, ‘यो पुल हिँडडुलका लागि मात्रै होइन महाकाली करिडोरमा समेत पर्ने भएकाले यसको महत्व धेरै छ ।’

उनले पुल नहुँदा पारी चन्दनीमा रहेको विद्यालयमा बर्खामा विद्यार्थीले जानसमेत छाडेको विगतको अवस्था सुनाए ।

स्थानीय ८० वर्षीय वृद्ध गंगादत्त भट्टले साँदनीवासीले निकै अभाव र गरिबीका बीच महाकाली नदी र साँदनी खोलाको पीडा सहेर बस्ती बचाएको स्मरण गरे ।

‘बस्तीमा बिरामी पर्दा डोकोमा बोकेर महाकालीमा तुईनमा तारेर भारतीय बजारमा उपचारका लागि जानु पर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले पुल, सडक लगायतका विकास पूर्वाधार जोडिँदा गरिबका पनि दिन आएजस्तो भान भयो ।’

पुल छेउमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले सडक पूर्वाधार क्रमिक रुपले विकास भएसँगै बस्तीको मुहार फेरिएको बताए ।

‘खोला बढ्यो की ३०–४० विद्यार्थी साँदनी गाउँमै रोकिन्थे,’ उनले भने, ‘अलि पानी कम भएका बेला अभिभावक र विद्यालयका शिक्षकले विद्यार्थी तार्ने काम गर्थे ।’

इञ्जिनियर किशोरराज पाण्डेले ३४ महिनामै काम सकेर पुल सञ्चालनमा ल्याएको बताए । ३२ करोड ६१ लाख लागतमा निर्मित पुलको लम्बाइ २५० मिटर छ ।

निर्धारित समयभन्दा आठ महिनाअघि पुल निर्माण गरेर पुल योजना कार्यालयलाई हस्तान्तरण गरेर बोसनका लागि समेत निर्माण कम्पनी दाबेदार बनेको पाण्डेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट