हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री-Sutra News

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् ।



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको दाबी गरे ।

प्रतिनिधि मण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनु पर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनु पर्नेलगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।

‘मैले युरोपेली युनियनका प्रतिनिधिसँग यस विषयमा कुराकानी गरेको छु, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु,’ उनले भने, ‘हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमाथि प्रश्न उठ्न सक्छ, त्यसैले म यसमा गम्भीर छु ।’

यसपटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको आधारमा कालोसूचीबाट हट्छ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट