कर्मचारी अभाव हुँदा चितवन राष्ट्रिय निकुञ्जमा समस्या-Sutra News

कर्मचारी अभाव हुँदा चितवन राष्ट्रिय निकुञ्जमा समस्या

बुधबार, २७ मंसिर २०८०

बुधबार, २७ मंसिर २०८०

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा कार्य क्षेत्र (फिल्ड)मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दीभन्दा आधा कम छन् ।



निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार श्रेणीविहीन गेम स्काउट १०६ जनाको दरबन्दी भएकोमा जम्मा ४५ जना कार्यरत छन् । सिनियर गेम स्काउट द्वितीय श्रेणी ३४ जनाको दरबन्दी रहेकोमा १४ जना मात्र छन् ।

सिनियर गेम स्काउट चतुर्थ श्रेणी तीन जनाको दरबन्दी रहेकोमा सबै पद रिक्त छ । रेञ्जर १९ जनाको दरबन्दी रहेकोमा १६ जना कार्यरत छन् । उनका अनुसार संरक्षण अधिकृत, प्रमुख संरक्षण अधिकृतसँगै लेखा, प्रशासनका कर्मचारी भने दरबन्दी अनुसार छन् ।

हात्तीबोहक २२८ जनाको दरबन्दीमा १३३ जना कार्यरत छन् । ९५ जनाको दरबन्दी रिक्त छ । ती सबै प्रत्यक्ष फिल्डमा खटिने कर्मचारी हुन । हात्तीसारतर्फ स्वीकृत दरबन्दी १५५ जना रहेकोमा १४४ जना मात्र कार्यरत छन् ।

हात्तीतर्फ ११ जनाको दरबन्दी रिक्त छ । जुन जनशक्ति प्रत्यक्ष रुपमा फिल्डमा कार्यरत हुन्छ । निकुञ्जको कूल दरबन्दी ३८३ रहेको छ । यसमध्ये २७७ जना कार्यरत रहेका छन् । बाँकी १०६ जनाको पद रिक्त रहेको तिवारीले जानकारी दिए ।

‘रिक्त रहेका कर्मचारी सबै फिल्डमा खटिने कर्मचारी हुन्,’ उनले भने । यो निकुञ्ज ९५२ दशमलब ६३ वर्ग किलोमिटरमा फैलिएको छ । जसको ६२९ दशमलब ३७ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जमा आदेश दिने कर्मचारी रहेको तर फिल्डमा खटिने कर्मचारीको दरबन्दीको तुलनामा कम भएकाले काममा कठिनाइ आएको बताए ।

जनशक्ति कम हुँदा काममा समस्या परेको विषयमा माथिल्लो निकाय जानकारी भएको उनले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले मुख्य रुपमा गेम स्काउटको दरबन्दी अनुसार जनशक्ति नहुँदा समस्या भएको बताए ।

यो जनशक्ति भर्ना भएपछि छोटो समयमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा भएर जाने र थप जनशक्तिका लागि समय लाग्ने हुँदा समस्या आएको जानकारी दिए ।

गेम स्काउट पदमा रहेकाले खरिदारमा आन्तरिक प्रतिस्पर्धाबाट जान सक्ने भएकाले धेरै त्यसतर्फ जाँदा दरबन्दी रिक्त हुने र लोकसेवा आयोगले पदपूर्ति गर्न समय लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट