एनसेल प्रकरण : जालसाझीपूर्ण भएको सत्ता गठबन्धनको ठहर, छानबिन गर्ने सहमति-Sutra News

एनसेल प्रकरण : जालसाझीपूर्ण भएको सत्ता गठबन्धनको ठहर, छानबिन गर्ने सहमति

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडाैं । सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को आह्वानमा मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिदबिक्री शंकास्पद रहेको भन्दै छानबिन गर्नुपर्ने निर्णय गरेको हो ।



बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकाे प्रवक्ता रेखा शर्माले उक्त शेयर खरिदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी दिइन् । सरकारले प्रारम्भिक चरणमै एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा आवश्यक छानबिन गर्ने निर्णय गरिसकेको जानकारी दिँदै उनले सरकारको अग्रसरतालाई गठबन्धन दलका नेताहरुले समर्थन गरेकाे बताइन् ।

मन्त्री शर्माले उक्त प्रकरणमा गठबन्धन दलका शीर्ष नेताको कुनै पनि संलग्नता नरहेको जनाउँदै त्यस्ता अफवाहमा कुनै पनि सत्यता नरहेको बताइन् । “शीर्ष नेताको संलग्नता हुन्थ्यो भने छानबिनको कुरै हुँदैनथ्यो, सरकार नियम कानुन र राष्ट्रहित प्रति प्रतिबद्ध छ”, उनले भनिन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निस्कर्ष निस्किएको बताएका छन् । “एनसेलको शेयर खरिदबिक्री अत्यन्त गम्भीर खालकाे देखिएकाे छ”, उनले भनेका छन्, “जतिपनि गतिविधि भएका छन्, ती शंकास्पद छन् । त्यसमा प्रश्न उठेका छन् । प्रधानमन्त्रीज्युले यो विषय गम्भीर छ र यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ र यसलाई देशको हित प्रतिकूल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानुन बमोजिम अध्ययन गर्ने कुरा भएको छ ।”

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री शर्मालगायत सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले एनसेलबारेका विषय स्पष्ट पार्नका लागि सम्बन्धित विभागका कर्मचारीलाई पनि बोलाएका थिए । छलफलमा सहभागि उच्च पदस्थ विभागीय कर्मचारीहरूले एनसेलको सेयर खरिद-बिक्रीको प्राविधिक र कानुनी पाटाबारे जानकारी गराएका थिए ।

मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै (८० प्रतिशत शेयर) बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर अर्थात् छ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको थियो । सात वर्षअघि सन् २०१६ मा एक खर्ब ४३ अर्ब रूपैयाँ खरिद गरिएको शेयर यति थोरै रकममा त्यो पनि सरकारी निकायलाई छल्दै बिक्री गरिएपछि उक्त खरिद–ब्रिकिमाथि प्रश्न उठेको छ ।

सम्बन्धित समाचार

एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर

कानुन छल्दै गरिएको शेयर खरिद–बिक्री : के हुन्छ एनसेलमाथि कारबाही ?

एनसेल शेयर खरिद–बिक्री प्रकरण : तीन बैंकको ४० अर्ब जोखिममा !

एनसेल प्रकरण : सार्वजनिक लेखा समितिले थाल्दै छानबिन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट