ठूलो परिमाणमा लागू औषधसहित दम्पती पक्राउ-Sutra News

ठूलो परिमाणमा लागू औषधसहित दम्पती पक्राउ

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । कोहलपुरबाट ठूलो परिमाणमा लागू औषधसहित एक दम्पती पक्राउ परेका छन् । लागू औषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा कोहलपुर ८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो ७०४ ग्राम चरेस, दुई किलो ११६ ग्राम अफिम बरामद गरेको हो ।

रेवन्त यसअघि पनि विं.सं. २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागू औषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले ०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायरसमेत गरेको थियो ।

साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले ०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट