नक्कली भुटानी शरणार्थी प्रकरण : आज आदेश आउने सम्भावना-Sutra News

नक्कली भुटानी शरणार्थी प्रकरण : आज आदेश आउने सम्भावना

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो ।



उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बिहीबार बहस सकिएकाे थियाे । उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको थियाे ।

मंगलबार प्रतिवादी तर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र बिहीबार खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो । बिहीबार खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेका थिए ।

न्यायाधीशद्वयको इजलासमा उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सम्भवतः शुक्रबार आदेश आउने भट्टराईको भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी नेता टेकनाथ रिजाललगायत १६ जना प्रतिवादीलाई कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले २०८० असार १ गते उक्त आदेश गरेको थियो । १८ जना प्रतिवादी रहेकोमा लक्ष्मी महर्जन र टंक गुरुङबाहेक १६ जनालाई कारागारमा थुनामा राखी मुद्दाको अनुसन्धान गर्न आदेश गरेको थियो । महर्जन र गुरुङलाई धरौटी तारेखमा छाडिएको थियो ।​

थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट