Logo

काभा महिला भलिबल : नेपाल र भारत भिड्दै



काठमाडौँ- घरेलु मैदानमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा आज (बुधबार) आयोजक नेपाल र भारत भिड्दै छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यसअघि नै सेमिफाइनलमा पुगिसकेका नेपाल र भारतबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ।
समूह ए मा रहेका नेपाल र भारतले लगातार दोस्रो जित निकाल्दै एक खेलअगावै अन्तिम चारमा स्थान बनाइसकेका छन्।

नेपाल आजको खेलमा उपाधि दाबेदार भारतलाई हराउँदै समूह विजेताका रुपमा अन्तिम चारमा स्थान बनाउन चाहन्छ। उता भारत पनि दुईपटकको च्याम्पियन नेपाललाइ हराउँदै आफ्नो दबदबा कायम राख्न चाहन्छ।

साविक विजेता नेपाल घरेलु मैदानमा उच्च प्रर्दशन गर्दै उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा हुँदा भारत भने आफ्नो रवाफलाई कायम राख्न चाहन्छ।

नेपालले भारतलाई आजसम्म हराउन सकेको छैन। यसअघि घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागको फाइनलमा नेपालले भारतलाई एक सेटमा हराएको थियो। त्यो नै नेपालको अहिलेसम्मको ठूलो उपलब्धि हो।

नेपालले पहिलो खेलमा किर्गिस्तानलाई २५–११, २५–१९ र २५–११ को सोझो सेटमा हराएको थियो। समूह चरणको दोस्रो खेलमा बंगलादेशलाई २५–१०,२५–८ र २५–९ को सोझो सेटमा पाखा लगाउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।

उता भारतले भने पहिलो खेलमा बंगलादेशविरुद्ध २५–३, २५–९ र २५–६ र दोस्रो खेलमा किर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जित हासिल गरेको थियो।

आजै हुने अन्य खेलमा समूह एको अन्तिम खेलमा बंगलादेश र किर्गिस्तान प्रतिस्पर्धा गर्नेछन्। समूह बीका उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र मालदिभ्स खेल्नेछन्।

आजको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका शीर्ष २ टोलीले फाइनल प्रवेशका लागि स्पर्धा गर्दा पुछारका दुई टोलीले वरीयताका लागि संघर्ष गर्नेछन्।

भलिबल

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ०६:५२


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113