भाँडा किन्ने बहानामा छिरे, मोलमोलाइ गरे अनि फर्केर विनोदले गरे निराको हत्या-Sutra News

भाँडा किन्ने बहानामा छिरे, मोलमोलाइ गरे अनि फर्केर विनोदले गरे निराको हत्या

आइतबार, १७ बैशाख २०८०

आइतबार, १७ बैशाख २०८०

सरस्वतीनगरकी निरा आचार्यको हत्यामा संलग्न झापाका विनोद विश्वकर्मालाई आज प्रहरीले सार्वजनिक गरेको छ।



विश्वकर्मालाई सार्वजनिक गरेको प्रहरीले घटना उनी एक्लैले घटाएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएको छ।

उनले लगाएको लुगा, बैंकको सीसीटिभी फुटेज, सडकको सीसीटिभीको फुटेजको सहायताले उनको पहिचान गरिएको थियो।

घटनाको दिन विनोद सात बजे बस चढेर केएल टावर चाबहिल पुगेका थिए। त्यसपछि उनी निराको पसल पुगेको प्रहरीको भनाइ छ।

पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले घटना घटाउनु अघि अभियूक्तले भाँडा किन्न मोलमोलाइ गरेको र त्यसपछि पैसा ल्याउने भन्दै त्यहाँबाट निस्केका थिए।

पसलबाट निस्केको १०-१५ मिनेटपछि पुनः पसल फर्किएका उनले २ बजेर ४४ मिनेटमा आचार्यमाथि हमला गरे। उनले पसलमा बिक्रीका लागि राखिएको चक्कुले नै निरालाई आक्रमण गरेका थिए।

घटना घटाएपछि विश्वकर्मा त्यही लुगा फेरेर टेम्पु चढि निस्केका थिए। आक्रमणपछि उनले निराको साथबाट एक तोलाको सिक्री र पसलमा भएको ११-१२ सय रूपैयाँ लुटेका थिए।

उनले निराको शरिरका दर्जनौं स्थानमा पटकपटक चक्कु प्रहार गरेका थिए।

अनुसन्धानमा खटिएको प्रहरीले साथीको घरबाट पनि निरुको हत्या गर्दा लगाएको कपडा पनि बरामद गरेको छ।

‘घटनामा लगाएको कपडा ब्याग र जुत्ता बरामद भएको छ। साथीको कोठाबाट रगत लागेको कालो टिसर्ट पनि बरामद भइसकेको छ’, एसएसपी आचार्यले भने, ‘लुटेको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजारमा बेचेका रहेछन्। हामीले त्यसलाई बरामद गरेका छौँ।’

प्रहरी समक्ष उनले आफ्नो अपराध स्वीकार गरेका छन्। उनले ऋण लागेकाले लुटपाट गरेको बयान दिएका छन्।

प्रहरीले अनुसन्धानका क्रममा विश्वकर्माको विवाहइत्तर सम्बन्ध भएको पनि खुलेको छ।

हत्या आरोपी विश्वकर्मा झापाको एक क्यासिनोमा काम गर्थे। सोही क्रममा जुवाको लत बसेपछि उनलाई ३ लाख रूपैयाँ ऋण लागेको थियो। त्यसपछि काठमाडौं आएका उनी एक नाइट क्लबमा बाउन्सरको काम गर्थे।

प्रहरीले विनोदको मृतकसँग कुनै व्यक्तिगत चिनाजानी नभएको बताएको छ।

हत्याको १ हप्तासम्म पनि प्रहरीले घटनाको कुनै ‘सुराक’ समेत फेला नपारेको भन्दै आलोचना भएपछि सीआईबीकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा शुक्रबार अनुसन्धान समिति गठन गरिएको थियो।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, एसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत थिए।

समिति गठन भएको दोस्रो दिन नै विनोद पक्राउ परेका हुन्।

भिडियोमा हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट