चितवनमा दिउँसो १ बजेदेखि मतगणना-Sutra News

चितवनमा दिउँसो १ बजेदेखि मतगणना

सोमबार, ११ बैशाख २०८०

सोमबार, ११ बैशाख २०८०

काठमाडौँ- चितवन २ मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ। आइतबार भएको मतदानको आज दिउँसोमात्रै गणना हुने भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले आचारसंहिता मिचेर भोट मागेको भन्दै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उजुरी दिएपछि विवाद बढेको थियो।



रातिदेखि नै मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक बस्न नसकेपछि रोकिएको थियो। आज बिहान बसेको बैठकले भने मतगणना गर्ने निर्णय गरेको हो। मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।

यहाँ रास्वपाका सभापति लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र कांग्रेसका श्रेष्ठ मुख्यप्रतिस्पर्धीको रुपमा छन् ।
मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति भएपछि मतगणना सुरु हुने भएको हो।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित रास्वपाका लामिछानेको नागरिकता प्रकरणमा मुद्दा परेर पद खारेज भएपछि आइतबार निर्वाचन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट