पाणिनी बहुमुखी क्याम्पसमा कर्मकाण्डी साधारसभा, सञ्चालक समितिमा नेतैनेता-Sutra News

पाणिनी बहुमुखी क्याम्पसमा कर्मकाण्डी साधारसभा, सञ्चालक समितिमा नेतैनेता

सोमबार, २० चैत्र २०७९

सोमबार, २० चैत्र २०७९

अर्घाखाँची, २०, चैत-अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा चरम राजनीति भएको छ । दलीय बाँडफाँड नमिल्दा ९ वर्षसम्म नभएको क्याम्पसको साधारणसभा प्रक्रियामात्र पुरा गर्दै सम्पन्न गरिएको छ ।



यही चैत्र १८ गते क्याम्पसमा सम्पन्न भएको साधारण सभाले राजनीतिक दलले पहिल्लै बाँडफाँड गरेको सञ्चालक समितिलाई अनुमोदन गरेको छ । आफू निकटका आजीवन सदस्यमात्र भेला गराई गरिएको कर्मकाण्डी साधारण सभाले नेपाली कांग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानको नेतृत्वमा सञ्चालक समिति गठन गरेको छ ।

दलको लामै छलफल र रस्साकस्सीका विच पनि पदाधिकारीमा बाँडफाँड नमिलेपछि पदाधिकारी पद खारेज गरी मुस्कानको नेतृत्वमा अन्य दलका नेता सदस्य रहनेगरी ९ सदस्यीय सञ्चालक समिति घोषणा गरिएको हो । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु सदस्य छन् ।

नवनिर्वाचित समितिको सदस्यहरुमा नेपाली काँग्रेसकी नेतृ लक्ष्मी श्रेष्ठ, नेता ऋषव अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष इश्वरा पोख्रेल, नेकपा एमाले अर्घाखाँचीका पूर्व अध्यक्ष जनार्दन खनाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विक, जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, महिला नेतृ कमला भण्डारी भुसाल, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल सदस्य चयन भएका छन् ।

साधारणसभाको बन्दशत्र प्रकृयामा अगाडी नै नबढाई जवरजस्त नामावली पढेर सुनाइएको कार्यक्रममा सहभागी एक नेताले बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान उपस्थित कार्यक्रममा चौहानले नै उम्मेदवारी दिने डरले प्रक्रिया नै शुरु नगरिएको स्रोतले बतायो । यस्तै शिक्षामा भैरहेको राजनीतिको विरोध गरेको स्वतन्त्र पार्टीलाई कार्यक्रममा खवर नै गरिएन ।

यसअघि २०७५ सालमा भएको साधारणसभा दलीय सहमती नजुटेपछि अलपत्र परेको थियो । उद्घामटन भएपनि समापन नभएको उक्त साधारणसभामा राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीको नेतृत्वमा संचालक समिति बनाउने निर्णय भएपनि अन्य पद नमिलेपछि अलपत्र परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट